aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ को योगदान १.२० प्रतिशतले ऋणात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ को योगदान १.२० प्रतिशतले ऋणात्मक

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश नं. १ को आर्थिक वृद्धिदर १.२० प्रतिशतले ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा उक्त वृद्धिदर ३.५४ प्रतिशत रहने अनुमान छ ।

 विभागका अनुसार आर्थिक बर्ष २०७७/७८ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६ खर्ब ६३ अर्ब रुपैयाँ हुने अनुमान गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।  जुन राष्ट्रिय अर्थतन्त्रको १५.६ प्रतिशत हो । 

समीक्षा वर्षमा प्रदेश नं. १ को स्रोत केन्द्रिय तथ्याङ्क विभाग प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.२ प्रतिशत, १६.२ प्रतिशत र ४८.६ प्रतिशत रहने अनुमान छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कृषि, उद्योग र सेवा क्षेत्रहरुको योगदान क्रमशः ३५.५ प्रतिशत, १६.४ प्रतिशत र ४८.१ प्रतिशत रहेको थियो । विभागका अनुसार औद्योगिक बर्गीकरणका आधारमा प्रादेशिक अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३५.२ प्रतिशत रहेको छ ।

 त्यसैगरी, थोक तथा खुद्रा व्यापार क्षेत्रको हिस्सा १०.३ प्रतिशत, शिक्षा क्षेत्रको हिस्सा ८.० प्रतिशत, घरजग्गा कारोवार सेवा क्षेत्रको हिस्सा ७.५ प्रतिशत रहने अनुमान छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको हिस्सा ७.३ प्रतिशत रहने अनुमान छ ।

 औद्योगिक वर्गीकरण अनुसार आर्थिक विकासका गतिविधिहरुको मापन गर्दा प्रादेशिक तहमा कृषि, वन तथा मत्स्यपालनको योगदान सबैभन्दा बढी रहेको छ भने थोक तथा खुद्रा व्यापार, शिक्षा र घरजग्गा कारोवार सेवा क्रमशः दोस्रो, तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस