
मकवानपुर । हेटौंडाका सञ्चारकर्मी बलराम पुडासैनीलाई समाचार लेखेकै आधारमा गोली ठोक्छु भन्ने मकवानपुरगढी वडा नम्बर ३ का रामप्रसाद घिमिरेलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एक महिना अघि निर्माण सम्पन्न गरिएको स्ल्याब ढलान काम नलाग्ने गरी भत्किएको विषयमा समाचार प्रकाशन गरेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले मकवानपुरबाट प्रकाशित हुने ‘तु खबर डट कम’का समाचार प्रमुख बलराम पुडासैनीलाई फोनमार्फत अश्लिल शब्दका साथ ज्यान मार्ने धम्की दिएका थिए ।
ज्यान मार्ने धम्की दिएपछि पुडासैनीले स–प्रमाण जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज (बुधबार)जाहेरी दिएका छन् । जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाही गरेको, कमसल सामग्री प्रयोग गरिएकाले विभिन्न स्थानमा भाँसिएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ । यस विषयमा ‘तु खबर डट कम’ले हिजो समाचार प्रकाशन गरेको थियो ।
सञ्चार गृहले सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष घिमिरे र सो गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईसँग सो निर्माणका विषयमा प्रतिक्रिया उल्लेख गर्दै सन्तुलन कायम गरेता पनि सञ्चारकर्मी पुडासैनीलाई धम्की दिएका थिए ।
यस विषयमा पत्रकार महासंघ मकवानपुरले सञ्चाकर्मीलाई धम्की दिनु निन्दनीय भएको र दोषी उपर कानूनी कार्वाहीको माग गर्दै विज्ञप्ति समेत प्रकाशन गरेको छ । पछिल्लो समय नेपालमा समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा सञ्चाकर्मीहरु माथि विभिन्न आक्रमण तथा ज्यान मार्ने धम्की दिने क्रम बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस