aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता अर्थमन्त्रीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन । शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका हुन ।

आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले बताए । ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’

अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए । यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ’, उनले भने, ‘शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न सबैलाई आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस