aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

बेइजिङ र दिल्लीमा प्रदूषणको मात्र उच्च, बेइजिङमा उच्च अलर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० कार्तिक २०७८
बेइजिङ र दिल्लीमा प्रदूषणको मात्र उच्च, बेइजिङमा उच्च अलर्ट

एजेन्सी । चीनको राजधानी बेइजिङ र भारतको राजधानी दिल्लीमा प्रदूषणको मात्र अत्यधिक बढेको छ । भारतको राजधानी नयाँ दिल्ली र त्यसको आसपासका शहरमा हावाको गुणस्तरमा अत्यधिक प्रदूषण देखिएको हो  । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको हो । भने जसका कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ ।

विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।’चीनमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुनेछ । यो कार्यक्रम बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुने बताइएको छ ।

भारतको राजधानी नयाँ दिल्ली र त्यसको आसपासका शहरमा हावाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। सरकारले पटका पड्काउन प्रतिबन्ध लगाएपनि शहरमा बिहीबार राती सर्वसाधारणले अत्यधिक मात्रामा पटका पड्काउँदा हावाको गुणस्तर नराम्ररी प्रभावित भएको थियो।  

सवारी साधान तथा उद्योगहरुका साथै आसपासका सहरमा हिउँदमा किसानहरुले पराल बाल्ने कारण दिल्लीको वायूमण्डलमा प्रदुषणस्तर उच्च हुने गर्छ। दिल्ली विश्वकै प्रदुषित शहर मध्येको एक हो। हिउँदमा त्यहाँको हावा अझ बढी प्रदुषित हुने गर्दछ।

शुक्रबार दिल्लीका केही भागमा हावाको गुणस्तर इन्डेक्स निकै उच्च मापन गरिएको सरकारी वायू गुणस्तर मापन केन्द्रले जनाएको छ । शहरका केही भागमा यसलाई गम्भीर स्तरका रुपमा बर्गीकरण गरिएको छ।

हावमा शुन्यदेखि ५० सम्मको गुणस्तर इन्डेक्स एक्यूआई राम्रो मानिन्छ  भने एक्यूआई  ५१ देखि १०० सम्मलाई सन्तोषजनक मानिन्छ। तर केही स्थानहरुमा यो अत्यन्तै गम्भीर तह अर्थात ५०० नजिक र त्यो भन्दा माथि पनि पुगेको जनाइएको छ।
 

प्रतिक्रिया दिनुहोस