
एजेन्सी । भारतमा राफेल विमान खरिद काण्ड फेरि चर्किएको छ । सो लडाकु विमान किन्ने क्रममा भएको कमिसनबारे फ्रान्सको मिडिया पार्ट नामक पब्लिकेसनले नयाँ तथ्य सार्वजनिक गरेको हो ।
फ्रान्सको दासो एभिएसनबाट ३६ वटा लडाकु विमान किन्ने क्रममा ७.५ मिलियन युरो कमिसन दिइएको थियो । सो फ्रान्सेली मिडियाका अनुसार यसको प्रमाण सुरक्षित हुँदा हुँदै पनि भारतीय प्रहरीले यसबारेमा जाँच अगाडी बढाएन ।
मिडिया पार्टले दाबी गरे अनुसार यो परिणामको पैसा खर्च भएको देखाउन नक्कली बिल बनाइएको थियो । जसबारे भारतका सिबिआई र ईडीले सन् २०१८ को अक्टोबरमा नै जानकारी पाइसकेका थिए । तर, दासो एभिएसनले सुसेन गुप्ता नाम गरेका बिचौलियालाई दिइएको करिब ६५ करोड भारतीय रुपैयाँको कमिसनबारे थाहा पाउँदा पनि पुलिस चुप बसेको हो ।
सुसेन गुप्ताको मरिससमा रहेको कम्पनी इन्टर इस्टेलर टेक्नोलोजीलाई दासो एभिएसनले सन २००७ देखि १२ को बिचमा ७.५ मिलियन युरो दिएको थियो । जसबारेको प्रमाण मरिसस सरकारले भारतको अनुसन्धान निकाय सिबिआईलाई हस्तान्तरण गरेको हो ।
सो पब्लिकेसनका अनुसार सुसेन गुप्ताले सन २००१ देखि नै दासोको एजेन्टका रूपमा काम गरेका थिए । सन् २००७ मा भारतले विमान किन्ने प्रक्रिया सुरु गरेपछि गुप्ता त्यसमा जोडिएका हुन् । त्यसो त मिडिया पार्टका अनुसार आईडीएस नाम गरेको भारतको आइटी कम्पनी पनि यो मामिलामा जोडिएको छ । सिबिआईको हातमा पुगेको दस्तावेजले यी सबै सम्बन्धहरूबारे स्पष्ट पारे पनि अनुसन्धान प्रक्रिया भने अगाडी बढाइएन । सुसेन गुप्ताले भारतका केही अधिकारीहरूलाई पनि केही पैसा दिइएको स्वीकार गरेको पनि मिडिया पार्टले उल्लेख गरेको छ । स्मरण रहोस् राफेलको खरिद डिल अन्तिम अवस्था रहेका बेला गुप्ताले भारतीय रक्षा मन्त्रालयका महत्त्वपूर्ण दस्ताबेज समेत हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस