aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

फजुल खर्च घटाउँछु : मुख्यमन्त्री पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
फजुल खर्च घटाउँछु : मुख्यमन्त्री पाण्डे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफुले ध्यान दिने बताउनुभएको छ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्ने क्रममा अनावश्यक प्रशासनिक खर्च घटाएर जनताको आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम ल्याइने बताए । 

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले मौजुदा संविधान, सङ्घीयता र प्रजातन्त्रको संवद्र्धनका लागि गठबन्धनको सरकार अपरिहार्य रहेको स्पष्ट पारे । सरकारले विभिन्न जिल्लामा पारदर्शी र निष्पक्षका साथ विकासका पूर्वाधारका लागि योजना र बजेट बाँडफाँड गरिने बताए । मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरिने उल्लेख गरे । 

गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति आवश्यक भएको धारणा राखेका थिए । 

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले मौजुदा सरकारले प्रदेशको विभिन्न जिल्लाका जनतालाई प्रभाव पार्ने नीति कार्यक्रम, आर्थिक योजना र आर्थिक मितव्ययिता ल्याउने कार्यक्रम स्पष्ट नभएको आरोप लगाएका थिए । नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले दलहरुले दलगत स्वार्थका लागि मात्र काम गरेको धारणा राखेका थिए । बैठकमा विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्याल र जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता प्रेमबहादुर तामाङले समेत आफ्नो धारणा राखेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस