
कोरोना महामारीको चपेटामा परेका विकासशील अर्थतन्त्रहरूमा त्यसको प्रभाव निकै कडारुपमा देखा पर्न थालेका छन् । ठुला अर्थतन्त्र भएका मुलुकहरूले कोरोना महामारीको प्रभावलाई कम गर्दै वृद्धिको नयाँ गति समात्न सुरु गरिसकेको भए पनि नेपाल जस्तो विकासशील अर्थतन्त्र भएका देशहरूका लागि भने अब कसरी माथि उठ्ने भन्ने विषय निकै चुनौतीपूर्ण बनेको छ ।
यसबीच विकासशील अर्थतन्त्र भएका मुलुकहरूको ऋण निकै ठुलो मात्रामा बढेको छ । त्यसलाई सम्हाल्दै आर्थिक स्थायित्व कायम गर्न नेपाल लगायतका मुलुकहरूले ठुलो आर्थिक तथा राजनीतिक मूल्य चुकाउनु पर्ने अवस्था देखा पर्दै छ । विश्वव्यापीरुपमा विकासशील अर्थतन्त्र भएका मुलुकलाई हेर्ने हो भने सरकारी ऋण विगत पाँच दशककै उच्च लगभग जिडिपीको ९७ प्रतिशतसम्म पुगेको छ । गत वर्ष यो ६३ प्रतिशतको हाराहारीमा थियो ।
यसरी ऋणमा चुर्लुम्मै डुबेका उदाउँदो बजार र विकासशील अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रलाई पुनरजाग्रित गर्ने केही विशेष विधिहरू अवलम्बन गर्नु पर्ने देखिन्छ ।
ऋणको भारबाट कसरी मुक्त हुने ?
नेपाल अहिले आफ्नो ऋणको भारीबाट कसरी मुक्त हुने भन्नेबारे सोच्नु पर्ने अवस्थामा पुगेको छ । महामारीपछिको आर्थिक वृद्धि र मुद्रास्फीतिमा नियन्त्रण गर्नु पर्ने बाध्यतासँगै ऋण चुकाउने दायित्वको बोझ हाम्रो जस्ता अवस्थामा रहेका सबै मुलुकहरूले बोकिरहेका छन् । गत वर्ष नै देखा परेको आर्थिक मन्दीको प्रभाव हाम्रा जस्ता अर्थतन्त्रहरूमा भर्खर मात्रै देखिँदै गएको छ । त्यस्ता प्रभावहरू विभिन्नरुपमा देखा परिरहेका छन् ।
यसरी महामारीले निम्त्याएको सङ्कट पछिका परिणामहरू मुद्रास्फीति, आर्थिक वृद्धिमा सुस्तता हुँदै वित्तीयरुपमा टाट पल्टिने अवस्थासम्म पुग्ने सम्भावना छ । त्यसबाट नेपाल जस्तो अर्थतन्त्रले आफूलाई बचाउन विश्व समुदायको सहयोग आवश्यक हुन्छ । जुन के कस्तोरुपमा र कुन मात्रामा प्राप्त हुन सक्छ भन्ने अहिले नै अनुमान गर्न गाह्रो छ ।
मुद्रास्फीति
जब आर्थिकरुपमा कुनै पनि मुलुक कमजोर बन्दै जान्छ भने त्यहाँको सरकारले बजार सन्तुलन मिलाउन सक्दैन । फलतः मुद्रास्फीति बढ्दै जाने हुन्छ । अहिले हामीमा देखिएको महँगी र मुद्रास्फीतिको प्रारम्भिक संकेतले समेत हामीलाई त्यो दिसातर्फ तीव्र गतिमा लैजाने अनुमान लगाउन सकिन्छ ।
मुद्रास्फीति प्रायजसो आर्थिक मन्दीसँगै देखा पर्छ । विश्वव्यापीकरण ठुला अर्थतन्त्रहरूले दोस्रो विश्वयुद्ध पछि र दक्षिण अमेरिकी राष्ट्रहरूले १९८० र ९० को दशकमा यस प्रकारका समस्याहरू भोगिसकेका छन् । नेपाल जस्ता मुलुकले मुद्रास्फीति नियन्त्रण गर्न निकै ठुलो आर्थिक भार बोक्नु पर्ने हुन्छ । जुन लगभग असम्भव प्राय छ ।
आर्थिक वृद्धिमा समस्या
विगतमा हामीले देखेका छौँ कि ऋणले थलिएका कतिपय ठुला तथा विकासशील अर्थतन्त्रहरूले राम्रो आर्थिक वृद्धि हासिल गर्दै आफ्नो ऋणको भार कम गरेका छन् । तर, अहिले त्यस्तो अवसर सानो अर्थतन्त्र भएका मुलुकहरूका लागि लगभग छैन भन्न सकिन्छ ।
जब कुनै मुलुकले लिएको ऋणको ब्याजदर भन्दा त्यो मुलुकले गरेको आर्थिक वृद्धिदर उच्च हुन्छ भने मात्र सो मुलुकले ऋण तिर्न सक्ने क्षमता राख्दछ । त्यो सम्भावना हाललाई त्यस बेला मात्रै देखिन्छ जब साना अर्थतन्त्र भएका मुलुकहरूले पनि ठुला र विकासशील अर्थतन्त्रबाट साथ र सहयोग पाउने गर्छन् ।
नेपाल अहिले त्यस्तो अवस्थामा छ जसले वैदेशिक सहायता र ऋण तथा अनुदान सहजरुपमा प्राप्त गर्न ठुलो मेहेनत आवश्यक पर्छ । मुलुकको राजनीतिक नेतृत्वले यो पक्षलाई ठिक ढङ्गले बुझेर पहल कदमी लिने सम्भावना न्यून छ । जसले गर्दा हामी तुरुन्तै ठुलो अङ्कको आर्थिक वृद्धि गर्नेबाट चुक्दैछौं । अनि परिणाम स्वरूप मुलुक आर्थिकरुपमा टा पल्टने अवस्थातर्फ उद्धत भइरहेको छ ।
टाट पल्टने सम्भावना
जब मुद्रास्फीति बढ्दै जान्छ र आर्थिक वृद्धिदरले गति समात्न सक्दैन भने त्यो मुलुकलाई आर्थिकरुपमा टाट पल्टनेबाट जोगाउन निकै गाह्रो छ । नेपाल अहिले कतै त्यही मार्गमा त हिँड्दै छैन भन्ने चिन्ता बढ्दै गएको छ । विगत २ सय वर्षको इतिहास हेर्दा ऋणको भारले थिचिएर ठुला अर्थतन्त्रहरूको तुलनामा हाम्रा जस्ता विकासशील अर्थतन्त्रहरू टाट पल्टेको घटना ४ गुणाले बढी छ ।
जब वैदेशिक ऋण तिर्न नसक्ने अवस्थामा मुलुक पुग्छ भने त्यस बेला निकै गम्भीर समस्याहरू भोग्न मुलुक बाध्य पर्न सक्छ । अन्तर्राष्ट्रिय पुँजी बजारसँगको पहुँचमा तगारो लाग्छ । र सरकार ठुलो मात्रामा घरेलु बैङ्कहरूबाट नै ऋण उठाउन बाध्य हुन्छन् । त्यसको पनि दीर्घकालीन नकारात्मक असर पर्छ । मुलुकमा अझ तीव्र गतिमा मुद्रास्फीति, बेरोजगारी लगायत समस्या देखा पर्न थाल्छन् ।
नेपाल जस्तो आफ्नै आर्थिक आधार नभएको मुलुकले कुनै ठुलो सङ्कट देखा पर्नु पूर्व नै सावधानी अपनाएर तदअनुरुपमा नीतिहरू निर्माण गर्दै जानु पर्नेमा हाम्रा आर्थिक क्षेत्रका नीति निर्माताहरुले त्यसतर्फ कुनै ध्यान दिएको देखिँदैन । सायद हामी नेपालीहरू आर्थिक विपद्को एउटा कहालीलाग्दो नियति भोग्न बाध्य बन्दैछौं ।
प्रतिक्रिया दिनुहोस