रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा आएको भन्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ढाँटेका छन् । उनले मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएर नहरमार्फत किसानका खेतमा सिँचाइ सुविधा पुगेको बताएका छन् । उनले इन्टेकमा रहेका आठवटा ढोकामध्ये तीनवटा सञ्चालनमा आएको दाबी गरेका छन् ।
तर, सिँचाइ आयोजनाको काम मन्त्री पुनले भने जसरी सञ्चालनमा आएको छैन । न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ । अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ ।
मूल कुलो सिँचाई प्रणालीका अध्यक्ष कुमारराज शाहीले सिँचाई आयोजनाको नहर सञ्चालन भएको कुरा पूर्ण रुपमा गलत भएको बताए । ‘नहर सञ्चालन भएको हामीलाई थाहा छैन,’ उनले भने, ‘किसानको उही परम्परागत ढंगले सिँचाई गर्दै आएका छन् ।’ यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस