
असार २२ को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरुले सेवा निवृत्त निजामती कर्मचारीलाई चाडपर्व भत्ता नदिन प्रस्ताव गरे । अवकाश पाएकालाइए चाडपर्व भत्ता दिंदा राज्यकोषमा व्ययभार बढ्ने उनीहरुको तर्क छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विज्ञप्ती जारी गर्दै उक्त प्रस्तावको विरोध गरे ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, डा. डिला संग्रौला र अमरेशकुमार सिंहले समिति बैठकमा यस्तो सुविधाविरूद्घ आवाज उठाएका थिए । पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ती जारी गरेपछि कांग्रेस सांसद कर्मचारीको सेवा–सुविधाबारे मौनजस्तै छन् ।
‘हामी सेवा निवृत्तलाई सेवा–सुविधा बढाउन हुँदैन भन्ने पक्षमा थियौं । तर, पार्टीले कर्मचारीको सेन्टिमेन्ट क्याच गर्न पनि यस्तो गर्न हुँदैन भन्यो,’ कांग्रेसका एक सांसदले भने, ‘पार्टीले नै विज्ञप्ती जारी गरेपछि त के बोल्नु र अरु मौन बस्ने ठीक हुन्छ ।’
यस्तै, बुधबारको समिति बैठकमा सत्तारुढ दलका नेता जनार्दन शर्माले अवकाश प्राप्त निजामती कर्मचारीका विषयमा बोल्दा पत्रकारलाई क्यामेरा नै बन्द गर्न लगाए । आफु अनौपचारिक रुपमा बोल्ने भन्दै क्यामेरा बन्द गर्न लगाएका शर्माले सेवा निवृत्तपछि बहालवाला कर्मचारीको जस्तै ‘पेन्सन’ बृद्घि गर्न नहुने तर्क गरे । तर, उनले क्यामेरामा बोल्दा आलोचना हुने भन्दै सचेत भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस