aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भोलिबाट जनगणना शुरु, चुञ्चे नक्सा क्षेत्रमा स्याटलाइटबाट गणना गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ कार्तिक २०७८
भोलिबाट जनगणना शुरु, चुञ्चे नक्सा क्षेत्रमा स्याटलाइटबाट गणना गरिने

काठमाडौं । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । 

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना स्याटलाइटबाट गरिने केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ । विभागका अनुुसार उक्त क्षेत्रमा जनगणना गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने जानकारी गराइएको  छ । 

यसपटकको जनगणनामा काठमाडौं महानगरपालिकासमेत काठमाडौं जिल्लाका छ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुने विभागले पत्रकार सम्मेलनमा बताएको छ । 

यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको  विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । 

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । 

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । उनका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यस अन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । 

जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए । 

यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसङ्ख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले हरेक दश वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसङ्ख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक  र आर्थिक  सूचकको लागिसमेत सूचना प्रदान गर्न सकिने बताए । 

प्रतिक्रिया दिनुहोस