महालेखानियन्त्रकको कार्यालय (मलेनिका)ले गत आर्थिक वर्ष ०७५/७६ भर नै दैनिक रूपमा विनियोजित बजेटको खर्च र राजस्व संकलनको हिसाब सार्वजनिक गर्दै आएको थियो ।
तर, आर्थिक वर्ष सम्पन्न हुन लाग्दा ३० असारमा एक्कासि मलेनिकाको वेबसाइट खुलेन । मलेनिकाका प्राविधिकलाई सोध्दा सिंहदरबारमा रहेको केन्द्रीय सर्भरमा समस्या आएकाले नखुलेको र खुलाउने प्रयास भइरहेकाले सोमबारसम्म ठीक हुने जानकारी दिए ।
भोलिपल्ट ३१ असार वा आर्थिक वर्षको अन्तिम दिन दिउँसो वेबसाइट खुल्यो । आवको अन्तिमसम्ममा विनियोजित बजेटको कति खर्च भयो र कति राजस्व संकलन भयो भन्ने विषय महत्वपूर्ण हुने नै भयो । तर, ‘दैनिक तुलनात्मक बजेटरी विश्लेषण’को लिंकमा क्लिक गर्दा कुनै तथ्यांक देखाएन ।
दिउँसो मलेनिका पुगेर प्रवक्ता जगन्नाथ देवकोटालाई भेट्दा उनले बाढीका कारण सप्तरी र रौतहट मलेनिका कार्यालयमा क्षति पुगेको र सबै तथ्यांक इन्ट्री गर्न नसक्दा बजेटको खर्च र राजस्व संकलन सार्वजनिक गर्न नसकिएको जानकारी दिए । उनले सूचना प्रविधि शाखामा गएर बुझ्न र जानकारी प्राप्त भए लिएर जानसमेत सुझाए । तर, शाखाका इन्जिनियरले प्रणालीमा समस्या आएकाले विवरण दिन नसकिने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस