
नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयसम्म पनि बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई दस दिनको समय दिएर स्पष्टीकरण सोध्ने भएको छ । बक्यौता बुझाउनका लागि अन्तिमपटक यही असार मसान्तसम्म समय दिएकोमा उक्त अवधिमा पनि बक्यौता नतिरेपछि प्राधिकरणले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्राधिकरणको आइतबार बसेको बोर्ड बैठकले बक्यौता नबुझाउने कम्पनीलाई स्पष्टीकरणको यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
‘कम्पनीहरुलाई अनुमतिपत्र किन खारेज नगर्ने भन्ने व्यहोरासहित स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो । यद्यपी बक्यौता नबुझाएको युनाइटेड टेलिकम(यूटीएल) लाई भने तत्काल स्पष्टीकरण नसोधिने भएको छ ।
सर्वोच्च अदालतले कम्पनीको लाइसेन्सको अग्राधिकार खारेज नगर्न मङगलबार अन्तरिम आदेश जारी गरेपछि प्राधिकरणले तत्काल उक्त कम्पनीलाई भने स्पष्टीकरण नसोध्ने भएको हो ।
प्राधिकरणले गत चैत १२ गते बक्यौता बुझाउन बाँकी रहेका ती सेवा प्रदायकलाई अन्तिम पटकका लागि असार मसान्तसम्मको समय दिएको थियो । यद्यपी तोकिएको अवधिमा कुनै पनि कम्पनीले बक्यौता नबुझाएको प्राधिकरणले जनाएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस