aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

हिमनदीको तटीय क्षेत्रका बस्ती जोखिममा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २७ कार्तिक २०७८
हिमनदीको तटीय क्षेत्रका बस्ती जोखिममा

काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् ।अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।

हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ ।

लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्छ ।हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।

जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको सम्मेलनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा अनुकूलनको कार्यक्रमसँगै जलवायुजन्य विपद्बाट हुने क्षतिपूर्तिका लागि सहयोग हुनुपर्नेमा जोड दिए ।

नेपालको पश्चिमी क्षेत्रमा विगत झण्डै ५०० वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् ।

पाँडेसहित वातावरणीय विपद्जन्य अवस्थाका जानकारले हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्व तयारी तथा जोखिम न्यूनीकरणका लागि पर्याप्त ध्यान जानुपर्नेमा जोड दिएका छन् । नेपालका हिमताल विस्फोट भई विपद् आउन सक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् ।

उनी भन्छन्, ‘हरेक १० वर्षमा ठूला बाढी आएका छन् । कुनै पनि समय नेपालमा ठूलो प्राकृतिक दुर्घटना नहोला भन्न सकिँदैन ।’ नेपालमा ३ हजार बढी हिमताल छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् ।

तिब्बतका २६ वटा ताल अतिजोखिममा छन् । जसले नेपालमा कुनै पनि बेला असर पु¥याउन सक्छ । अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । प्रत्येक वर्ष ४ वटा ताललाई जोखिम न्यूनीकरण गर्ने योजना रहेको उनको भनाइ छ ।

पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रूपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमताल खतरामा रहेको उनको भनाइ छ । १ वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालको सूचीमा पर्छ जसको संरचना र स्वरूप जोखिमयुक्त देखिएको छ । 

प्रतिक्रिया दिनुहोस