aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

'नेपालले एमसीसी स्विकार गर्नुपर्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ कार्तिक २०७८
'नेपालले एमसीसी स्विकार गर्नुपर्छ'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं । यो पाँच दलीय गठबन्धन जो छ, यो अपवित्र गठबन्धन हो । यो सरकारका समर्थक, जसले आफूलाई न्यायमूर्तिहरु ठान्नुहुन्छ, वकिल मान्नुहुन्छ, उहाँहरुले ल्याएको विषय हो । यो बीचमा यति धेरै जात्रा गरियो नेपालमा, यो दुनियाँमा नभएको, राजनीतिक रुपमा त धेरै नै एउटा दुनियाँमा नभएको नकारात्मक नजिर कायम गरिएको छ । यो परमादेशबाट सरकार बनाउने, जनादेशलाई अपमान गर्ने, जनादेशलाई कदर नगर्ने, जनादेशको विरुद्धमा परमादेशबाट सरकार बनाउने काम भयो, यो दुनियाँमा नभएको काम हो ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको गुनासो पोखे । उनले भने,‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बनाईयो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम भयो, यो संविधानविोधी काम हो । संविधानलाई धाराशयी बनाउने काम गरियो । यो बेठिक हो । पार्टी फुटाउनको लागि अध्यादेश ल्याईयो, यो दुनियाँमा नभएका काम हो । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम यो गठबन्धनको सरकारले गरेको छ । कार्यपालिकालाई पनि कुनै सिस्टममा चलाईएन । सत्तापक्षले विपक्षीविरुद्ध महागठबन्धन बनाउने जस्तो दुनियाँमा नभएको काम यहाँ नेपालमा भैरहेको छ ।’

उनले न्यायापालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकारको जिम्मेवारी हो । न्यायालयका कतिपय निर्णयमा हाम्रो असहमति छ, सरसर्ती हेर्दा निर्णय गर्ने सबैले जिम्मेवारी लिनुपर्छ । न्यायालयभित्रका विकृति, विसंगतिको बारेमा कुरा उठेको छ, यसमा गम्भीर अनुशन्धान गर्नुपर्छ । कारबाही सबैलाई हुनुपर्दैन ? राजीनामा सबैले दिनुपर्दैन् ? न्यायाधीशहरुले बेञ्च बहिष्कार गरेका छन्, बार पसिरमा विद्धान वकिलहरुले हातपात गर्ने, वकिलहरुले न्यायालय घेर्ने, बहस÷पैरवी बहिष्कार गर्ने, अदालत घेराबन्दी गर्ने, सेवा बन्द गराउनेजस्ता गलत काम भएका छन्, जनताका मुद्दा सुनुवाई गर्नुपर्दैन् ? एउटा प्रधानन्यायधाीशलाई कारबाही गर्दैमा समस्याको समाधान हुन्छ ? यो सरकारवादी पार्टीहरुले यो बुझ्न पर्ने कुरा हो । हामी प्रमुख प्रतिपक्षी दलको नाताले कमिकमजोरी देखाईदिने कुरा हो। ज÷जसले गलत निर्णयमा साथ थिए, जो÷जो सहभागी छन्, उनीहरु सबै कारबाहीको भागीदार हुनुपर्छ ।’

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए । उनले भने,‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होईन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन् । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ । झुण्डिएर बसिरहेको  छ । हामीले त आफ्नो धारणा रोखका छौं । सरकारले कसरी विषयवस्तु ल्याउँछ ? आफ्नो धारणा ल्याओस ।’

उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरुको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने,‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ नि, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ ।

 सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ । संसद्लाई बाईपास गरियो । न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको छ । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको छ । यो कुरा सबै घट्नाक्रमले पुष्टि गरेको छ । जति दिन बित्दै जान्छ, त्यति नै राष्ट्र र जनताले दुःख पाउने हो । अब त व्यवस्था, संविधान र प्रणाली रक्षाको जरुरी भैसक्यो ।’

नेता रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौं, विधान पनि सर्वसम्मतीले पारित गर्यौं  । अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरुको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौं । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौं । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौं ।’

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो । सुरुदेखि नै हाम्रो लाईन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ । आस्था छ । अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन् । अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि हामी जानेर नै मौन छौं । बार एशोसिएशन विद्धानहरुको थलो हो । श्रीमानरुह पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला । तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतैपनि आफूलाई उभ्याउँदैनौं ।’ 

उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे । उनले भने,‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्यो भने सोचौला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं ।’ उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन नबोल्ने पनि स्पष्ट पारे । उनले थपे–‘हामी हचुवाको भरमा बोल्दैनौं ।’

त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे । उनले भने,‘यो सबैको लागि हानिकारक हुन्छ। अब जहाँसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कुरा छ, यो आयल निगमले आँफैले भाउ बढाएको हो जस्तो मलाई लाग्दैन् । अन्तर्राष्ट्रिय मूल्य बढेसँगै आयल निगमले मूल्य समायोजन गरेको  हो जस्तो मलाई लाग्छ । तर पनि मूल्यवृद्धिको लागि म खेद व्यक्त गर्दछु । नेपाल सरकारले खाना पकाउने ग्याँसलगायतका अतिउपभोग्य वस्तुमा सब्सीडी दिओस । यो नेपाल सरकारले गरोस । आयल निगमले गरेर हुँदैन् ।’

उनले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई पनि आफ्नो पाटीले नजिकबाट नियाँलिरहेको सुनाए । र, आफूहरुलाई एमसीसी उचित र राम्रो लागेको सुमनको तर्क छ । उनले भने,‘हाम्रो पार्टीले एमसीसीबारे राम्रोसँग अध्ययन गरिरहेको छ। एमसीसी सरकारको विषय होईन, यो संसद्को विषय हो । प्रत्येक पार्टी र सांसदहरुको दायित्व हो । अहिले हामीले राम्ररी अध्ययन गरिरहेका छौं । हामी २४÷२५ जना सांसद छौं । पारितको गर्नको लागि त संख्या पनि चाहियो नि, हामी अध्ययनको क्रममा छौं । एमसीसी सम्झौता अध्ययन गर्दा हामीले राष्ट्रविरोधी प्रावधान हामीले अहिलेसम्म भेटेको छैन् । अमेरिकी सेना आउने जुन हल्ला चलाईएको छ, यो पनि गलत हो । नेपालले एमसीसी स्विकार गर्नुपर्छ ।’

त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए स्वागत गर्न आफूहरु आँतुर रहेको सुनाए । उनले भने,‘नेपाल–भारतबीच जनस्तरको सम्बन्ध छ । माता सीतादेखि अहिलेसम्म चल्दै आएको छ । चाडपर्व, वैवाहिक सम्बन्ध, सबै मिल्छ, यो दुनियाँकै उत्कृष्ट सम्बन्ध हो । अस्ति बेलायत भ्रमणको क्रममा हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो, त्यो भेटमा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने कुरा सुनियो, यो अत्यनै खुशीको कुरा हो । नेपाल भ्रमणमा आउँदा मोदीले राम्रा राम्रा निर्णय गर्नुभएको छ, नेपाली जनता मोदीलाई स्वागत गर्न आँतुर छन् ।’
 

प्रतिक्रिया दिनुहोस