काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले धमाधम राजनीतिक व्यक्तिलाई निशानामा पार्न थालेको छ । पछिल्लोपटक कांग्रेस नेताहरु बढी निशानामा परेको घटनाक्रमले देखाएको छ । विभागले स्रोत नखुलेको सम्पत्ति भन्दै कांगे्रस नेता मोहनबहादुर बस्नेत र सूर्यबहादुर केसीमाथि अनुशन्धान थालेको समाचार स्रोतले जनाएको छ । पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा ६१ करोड रुपैयाँ स्रोत नखुलेको रकम निक्षेपका रुपमा राखेको भन्दै विभागले अनुशन्धान शुरु गरेको छ । उनी एनसीसी बैंकका पूर्वसञ्चालक पनि हुन् । खासाबाट हुने व्यापारमा उनको संलग्नता रहेको बताइन्छ ।
त्यस्तै पोखराका व्यवसायी एवम् बैंकरसमेत रहेका केसीको ३० करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै विभागले अनुशन्धान थालेको बताइएको छ । विगतमा अर्थ मन्त्रालयअन्तर्गत रहेको विभाग केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । प्रधानमन्त्रीको मातहत गएपछि विभागले राजनीतिक व्यक्तिको सम्पत्तिमा निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस