
एजेन्सी । भारतको महाराष्ट्रको गढचिरौलीमा भएको भिडन्तमा २७ नक्सलवादी मारिएका छन् । यसमा नक्सलका कमाण्डर मिलिन्द तेलतुम्बडेको नाम पनि समावेश भएको बताएको छ । तेलतुम्बडे सम्बन्धी सूचना दिनेलाई ५० लाख रुपैयाँ पुरस्कारको घोषणा समेत गरिएको थियो । एनआईएले उनलाई भीमा कोरेगाउँ हिंसा प्रकरणमा पनि आरोपी बनाएको छ ।
अधिकारीहरुका अनुसार मिलिन्द तेलतुम्बडेसँगै शनिबार नक्सलविरुद्धको अभियानमा ४ शीर्ष नक्सलवादी पनि मारिएका छन् । अपरेशनका क्रममा आत्मसमर्पण गरेका नक्सलवादीहरूले मिलिन्द तेलतुम्बडेको शव पहिचान गरेको दावी गरिएको छ ।
तर, शतप्रतिशत पुष्टिका लागि डीएनए परीक्षण भइरहेको छ । यसका लागि तेलतुम्बडेका नातेदार आनन्दको रगत समेत दिइएको छ । मिलिन्द तेलतुम्बडेलाई दीपक, प्रवीण, अरुण र सुधीर भनेर पनि चिनिन्थ्यो । तेलतुम्बडेलाई प्रहरीले डरलाग्दो र कुख्यात नक्सलवादीको रूपमा चिनाएको थियो ।
प्रतिक्रिया दिनुहोस