
पर्वत । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार रुपैयाँ तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै क्षेत्रीय सभापतिका लागि १५ हजार रुपैयाँ तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि १० हजार रुपैयाँ तोकिएको छ ।
कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताए । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उनले भने, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।”
केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार रुपैयाँ, उपसभापति र सचिवका लागि सात हजार रुपैयाँ, सहसचिवका लागि छ हजार रुपैयाँ र सदस्यका लागि तीन हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई पाँच हजार रुपैयाँ, उपसभापति र सचिवलाई तीन हजार रुपैयाँ, सहसचिवलाई दुई हजार ५०० रुपैयाँ र सदस्यलाई दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस