aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोकेका हुन् । उनले आफ्ना लागि कुनै पनि इजलास तोक्नुभएको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा  एकल इजलास रहेको छ । कुनै पनि इजलासमा  सुनुवाइ भने शुरु भएको छैन । 
 
प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोट)ले बिहीबार गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोेला प्रणालीकोे कार्यविधि बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि बाटो खुलेको छ  ।  
 
सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनले गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नुपर्नेलगायत सुझावसहितको सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आएको थिए । उक्त माग भने पूरा हुने भएको छ । सोही मागसहित विभिन्न मागका कारण गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि  न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । 

प्रतिक्रिया दिनुहोस