
काठमाडौं । नेपालको अर्थतन्त्रमा ठुलो संकट आउने चिन्ता अर्थविद्हरूले व्यक्त गर्न थालेका छन्। विदेशी मुद्रा सञ्चितमा कमी, तरलता अभाव, व्यापार घाटा, रेमिट्यान्समा कमी, पुँजीगत खर्चमा देखिएको कमीका कारण अर्थतन्त्र संकटको दिशातिर गइरहेको अर्थविद् रामेश्वर खनाल बताउँछन् । उनी भन्छन्, ‘यस्तो अवस्था लम्बिँदै जाने हो भने अर्थतन्त्रमा ठुलो समस्या सिर्जना हुनसक्छ ।’
यस्तो अवस्थामा अर्थतन्त्रका सूचकाङ्कहरू नकारात्मक हुन नदिन ब्याजदर बजारलाई नै छोड्दिन आवश्यक रहेको उनको धारणा छ। उनी भन्छन्, ‘आर्थिक संकट नियन्त्रणका लागि पहिलो कुरा ब्याजदर बजारलाई नै छोडिदिनु पर्छ । ब्याजदर बजारलाई छोडिदिने बित्तिकै बजार आफैले करेक्सन गर्छ । किनभने निक्षेप र ब्याजदर बढ्ने बित्तिकै मानिसहरूले बचत गर्न सुरु गर्छन्।’, उनी अगाडी थप्छन्, ‘यससँगै मानिसहरूले उपभोग पनि कम गर्छन् । उपभोग कम गर्ने बित्तिकै मूल्यवृद्धि पनि कम हुन्छ । विदेशी मुद्राको सञ्चित पनि बढ्छ । आयातमा पनि कम हुन्छ । पाँच छ महिनापछि बजारले करेक्सन गरेर ब्याजदर पनि सन्तुलनमा ल्याउँछ ।’
उनका अनुसार कर्जा उपभोग हुने क्षेत्रमा प्रवाह गर्नका लागि निषेध गर्ने खालको ब्याजदर बजारले नै कायम गर्न खोजेको थियो । जसका कारण ब्याजदर बढ्दै गएको थियो । ‘ब्याजदर बढ्दा दुई कुरामा फाइदा हुन्छ । पहिलो भनेको तत्काल उपभोगलाई कटौती गर्छ र अर्को निक्षेपको कुरा हो । निक्षेपमा पैसा बढ्ने बित्तिकै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह गर्नका लागि रकम पनि उपलब्ध हुन्छ । यता तरलताको समस्या पनि समाधान हुन्छ’, उनले भने ।
राष्ट्र बैंकले ब्याजदर तल राख्ने प्रयत्न गरेका कारण अहिलेको संकटलाई झन् गम्भीर बन्न सक्ने अर्थविद् खनालको चिन्ता छ । उनी भन्छन्, ‘मूल्यवृद्धि नियन्त्रण गर्न, विदेशी मुद्राको सञ्चित राम्रो बनाउनका लागि, भुक्तानी सन्तुलन घनात्मक बनाउनका लागि ब्याजदर कायम गर्न बजारलाई छोड्दिन आवश्यक रहेको थियो । तर, राष्ट्र बैंकले ब्याजदर तल राख्ने प्रयत्न गरेका कारण झन् अहिलेको संकटलाई गम्भीर बनाएर लैजाँदै छ ।’
अहिले उल्टै ब्याजदर कम गर्ने खालको आशयका धारणाहरू अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकबाट व्यक्त भइरहेको हुनाले अर्थतन्त्र सङ्कटतिर गइरहेको उनको निष्कर्ष छ । यही कारण विदेशी मुद्राको सञ्चित लगातार घट्दो रहेको उनले बताए । ‘व्यापार घाटा पनि लगातार बढिरहेको छ । भुक्तानी सन्तुलन ऋणात्मक छ । मूल्यवृद्धिको दर पनि बढ्दै गएको छ’, उनले भने, ‘अघिल्लो महिना उच्च दरमा मूल्यवृद्धि भएकोमा यस महिना केही मत्थर भएजस्तो त भएको छ । तर, उपभोग बढ्दै गयो भने मूल्यवृद्धि फेरि बढ्न सक्छ ।’
त्यस्तै, आयातमा कमी भयो भने विदेशी मुद्राको सञ्चितमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले भने, ‘आयातमा कमी भयो भने विदेशी मुद्राको सञ्चितमा सकारात्मक प्रभाव पर्छ ।’ साथै, यस वर्षको धान खेती त्यति राम्रो नभएका कारण खाद्यान्नको मूल्यवृद्धि हुनसक्ने उनले बताए । उनले भने, ‘यस वर्ष धान खेतीमा धेरै नै क्षति भएको छ । यसको असरले खाद्यान्नमा मूल्यवृद्धि हुन्छ ।’
उनका अनुसार उद्योगमा लगानी गर्ने बित्तिकै प्रतिफल आउँदैन। त्यसैले अहिले तत्काल सरकारले ध्यान दिने भनेको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तर्फ नै हो । यसका लागि सरकारले पर्यटकीय पूर्वाधार विस्तार गर्ने, घुम्नको लागि मानिसहरूलाई प्रेरित गर्ने र कर्मचारीलाई पर्यटन बिदा भनेर घुम्न जान सहुलियत दिएको छ त्यसको कार्यान्वयन गर्यो भने आर्थिक वृद्धिमा सहयोग पुग्ने उनले बताए ।
उनले भने, ‘आन्तरिक पर्यटनलाई वृद्धि गर्न सकियो भने सानोतिनो रोजगारी नेपालमै सिर्जना हुन्छ । जसले विदेशमा रोजगारी गरेर रेमिट्यान्स पठाइरहेका थिए उनीहरूले यही आएर पर्यटन व्यवसायमा संलग्न भए भने त्यसले आन्तरिक उत्पादनमा वृद्धि हुनेको साथै रोजगारी पनि सिर्जना गर्छ ।’
खनालले चिन्ता व्यक्त गरे झैँ नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्समा समेत उल्लेख्य कमी आएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विप्रेषण (रेमिट्यान्स) आप्रवासमा कमी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २३९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।
त्यसैगरि, विदेशी विनिमय सञ्चित पनि घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तसम्ममा १३९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३१९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ असोज मसान्तमा ८ प्रतिशतले कमी आई ११४५ अर्ब २९ करोड कायम रहेको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ सय १ अर्बले बचतमा रहेको शोधानान्तर स्थिति पनि यस वर्ष सोही अवधिमा ७६ अर्बले घाटामा रहेको छ । यसबिच बैंकिङ क्षेत्रमा तरलताको समस्या बढेको छ भने तीन महिनामा वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ । अर्कोतर्फ सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । जसले गर्दा तरलता सङ्कटबाट समेत तुरुन्तै मुलुकले मुक्ति पाउने अवस्था समेत देखिँदैन।
प्रतिक्रिया दिनुहोस