
काठमाडौँ । रुकुमका महिलाहरूको अधिकारबारे अध्ययनका लागि काठमाडौं न्युरोडकी लुमन्तीसिद्धि वज्राचार्य र इमाडोलकी आयुशी बम आइतबार काठमाडौं विमानस्थलबाट सल्ले जान नेपाल वायुसेवा निगमको ट्वीनअटर चढे । पहिलो पटक रुकुम जान लागेका उनीहरू जब नेपालगन्ज विमानस्थलमा उत्रिए, झसंगै भए । उनीहरूले सोचेका थिए– ‘रुकुम आइपुगियो ।’ तर त्यो रुकुमको सल्ले विमानस्थल थिएन ।
रुकुम जान काठमाडौं विमानस्थलमा निगमको विमान चढ्ने क्रममा लुमन्तीसिद्धि वज्राचार्यलगायत । जहाजबाट ओर्लिएलगत्तै उनीहरूलाई निगमका स्थानीय कर्मचारीद्वारा भनियो, ‘खाना, होटलको व्यवस्था आज यतै गरेका छौं, भोलि बिहानै पहिलो फ्लाइटमा तपाईंहरूलाई रुकुम उडाइदिन्छौं ।’
यो कुरा सुनेपछि लुमन्ती र आयुशी मात्रै होइन, सोही उडानमा नेपालगन्ज आइपुगेका अरू आठ यात्रु पनि तीनछक परे । खासमा उनीहरूको हातमा टिकट र बोर्डिङपास रुकुम सल्लेको थियो । तर निगमको ट्वीनअटरले नेपालगन्जस्थित राँझा विमानस्थलमा ओरालिदियो । जहाज त्यहीं राखेर चालकदलका तीन सदस्य आराम गर्न क्रु–क्याम्पतिर लागे ।
कुनै पनि उडानमा यात्रुलाई गन्तव्य र यदि त्यो परिवर्तन गर्नुपर्ने परिस्थिति सिर्जना भएमा पाइलटले एयरहोस्टेसमार्फत जानकारी गराउनुपर्छ । तर उनीहरूलाई उडानका क्रममा त्यस्तो कुनै जानकारी गराइएको थिएन । ‘त्यो हाम्रो काम नै होइन,’ उक्त उडानमा रहेका एक पाइलटले भने, ‘हामी काठमाडौंबाट उड्दा नै नेपालगन्जका लागि उडेका थियौं ।
हामीले उड्नुअघि हस्ताक्षर गरेर बुझाउने फ्लाइट प्रोग्राममा नेपालगन्ज नै जाने लेखिएको छ ।’ रुकुम जानुपर्ने यात्रुलाई नेपालगन्ज किन लगियो त रु यसमा निगमको आन्तरिक विमानस्थलमा रहेको जहाज तथा चालकदलको व्यवस्थापन हेर्ने अपरेसन शाखा र यात्रु सेवा शाखाबीच समन्वयको अभाव मुख्य कारण देखिएको छ ।
खासमा यो उडानको समय आइतबार बिहान साढे ६ बजेको थियो । रुकुमको सल्ले विमानस्थलको मौसम सफा भएकाले जहाज अवतरणका लागि समस्या थिएन । तर, उक्त बिहान मौसम बिग्रिएका कारण नेपालगन्ज, सुर्खेत, भैरहवा र धनगढी विमानस्थल खुला गरिएका थिएनन् । उडान नियमअनुसार कुनै पनि गन्तव्यका लागि उड्नुअघि पाइलटले नजिकैका दुइटा वैकल्पिक विमानस्थल खुला नभएमा उड्न नपाइने नियम छ ।
त्यसैले रुकुम जाने जहाजले रुकुम खुला भए पनि यदि कुनै कारणले त्यहाँ अवतरण गर्न नसक्ने परिस्थिति पैदा भएमा नजिकैको अर्को विमानस्थलमा डाइभर्ट हुनुपर्ने हुन्छ । नजिकै वैकल्पिक विमानस्थल खुला नभइदिँदा आइतबारको बिहान उडान रद्द भयो ।
प्रतिक्रिया दिनुहोस