aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेहन्दी लगाएरै कमाउँछन् दैनिक ५ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
मेहन्दी लगाएरै कमाउँछन् दैनिक ५ हजार

काठमाडौं । साउन महिना श्रृगांर पसल तथा मेहन्दी लगाइदिनेको व्यापार एकदमै फस्टाएको छ । साउन महिनाको महिला फेसनले व्यापारीलाई मालामाल गरेको हो । कस्मेटिक पसलको व्यापार र रोडमा मेहन्दी लगाउने व्यापारीको साउन महिनाको पहिलो साता अन्य महिना भन्दा तीन गुणा व्यापार बढेको छ । 

आर्थिक हिसाबले पनि साउनको बिशेष महत्व छ । साउनकै लागि भनेर व्यापारीहरुले नयाँ सामान झिकाएका पनि छन् । विशेषगरी रंगीबिरंगी चुरा, पोते तथा श्रृंगारका अन्य सामानको बिक्री साउनमा उल्लेख्य हुन्छ । 

ठूला सपिङ मलदेखि फुटपाथसम्मै किनमेलका लागि महिलाहरुको भिडभाड देखिन्छ । सामान किनमेलसँगै मेहन्दी लगाउन पनि उत्तिकै व्यस्त देखिन्छन् विवाहित महिला तथा अविवाहित युवती ।

अहिले साउन महिनाको लागि मात्र भनेर रोडमा मेहन्दी लगाउनेहरु ठाउँ ठाउँका व्यस्त बजार, चोक र पसल बाहिर बसेर मेहन्दी लगाइ रहेका यत्र–तत्र भेटिन्छन् । 

त्यस्तै बागबजार रोडमा मेहन्दी लगाउन बसेका जेनिस गुप्ताले भने ‘हाम्रो मेहन्दी व्यापार त साउन महिनामा मात्र हो । यो महिनामा त महिलाहरु मेहन्दी लगाउन आउने गर्छन् । हामीले हातमा लगाउने बुट्टाको आधारमा ५० देखि ३ सय रुपैयाँसम्मको मेहन्दी लगाइ दिन्छौं । लगभग दिनमा ३० जना जति हातमा मेहन्दी लगाउन आउछन् ।’ 

उनले भने अहिले म दिनको लगभग ५ हजारसम्म कमाउछु मलाई फाइदा भनेको ३ हजार होला । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङपालिस लगाएर श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ । 

काठमाडौं व्यापारी केन्द्रका रुपमा परिचित न्यु रोड, विशाल बजार, बागबजार र  अन्य व्यस्त चोकमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइ–नभ्याई छ । 
अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा र  मेहन्दी लगाउने गरेको पाइयो । अन्य महिना भन्दा साउन महिनामा खासगरी अधिकांश हिन्दू महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको न्युरोडकी कस्मेटिक व्यापारीे उर्मिला अधिकारीले बताए । 

उनले भनिन्– “साउन महिना आए पछि त हाम्रो व्यापारमा अन्य महिना भन्दा चुरा, मेहन्दी र श्रृगांर समान बढी बिक्रि हुने गर्दछ ।” अहिले दिनकै अन्य महिना भन्दा बढी कमाइरहेको सुनाइन् । 

उर्मिला अधिकारीको कस्मेटिक पसलमा समान किन्दै गरेकी विनुले भनिन्–कतिपयले चुरा र मेहन्दीको  धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । 

साउनमा बोटबिरुवा पलाएर हरियाली हुने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको बताए । तर अहिले संस्कार भन्दा पनि फेसनको रुपमा लगिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस