
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित अडिट भवनको उद्घाटन गरेकी छिन । सम्बोधन गर्दै कार्यालयले नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेत विचार गरी सरकारी निकायको कारोबार मूल्याङ्कन मार्फत सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र स्वच्छता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन ।
निर्यातभन्दा आयात बढि भएको, कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर रहेकोले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राज्यका सम्बद्ध निकायलाई घच्घच्याउने जस्ता नीतिगत विषयहरुमा महालेखापरीक्षकबाट प्रभावकारी भूमिका निर्वाह गर्न समेत ध्यानाकर्षण गराएकी थिइन ।
कार्यालय भवन उद्घाटन समारोहमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयको भवन राष्ट्रपतिबाट उद्घाटन भएकोमा हार्दिक आभार व्यक्त गरेका थिए । उनले वि सं २०१६ सालमा स्थापना भएको महालेखापरीक्षकको कार्यालय स्थापनाकालदेखि बबरमहलस्थित भवनमा संचालन हुँदै आएको थियो । २०७२ सालको भूकम्पका कारण उक्त भवनमा कार्यालय सञ्चालन हुन नसक्ने भएकोले विभिन्न स्थानमा भवन भाडामा लिई कार्यालय संचालन गरिएको व्यहोरा जानकारी गराएका थिए ।
सम्बोधनका क्रममा महालेखापरीक्षकले राष्ट्रपतिबाट २०७४ मंसीर १८ मा शिलान्यास भएको थियो । कार्यालयबाट यस बर्षदेखि विद्युतिय माध्यमबाट लेखापरीक्षण कार्य गर्न प्रयोगमा ल्याइएको नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीको शुभारम्भ भएको जानकारी गराएका थिए ।
परम्परागत र आधुनिक शैली मिश्रित नवनिर्मित अडिट भवनको कुल अनुमानित लागत ८३ करोड १८ लाख रुपैयाँ रहेकोमा २०७८ कार्तिक मसान्तमा सम्पन्न हुँदा ७३ करोड ९ लाख रुपैयाँ अन्तिम लागत कायम भएको महालेखापरिक्षक कार्यालयले जनाएको छ । निर्माण व्यावसायी लुम्बिनी र गौरी पार्वती र शान्ति जेभीले भवन निर्माण गरेको यस भवनको कुल ९ तलामध्ये २ तलामा अण्डरग्राउण्ड पार्किङ्ग रहेको छ । भूँइ तलामा रिसेप्सन, भण्डार कक्ष रहेका छन् ।
पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष रहेको छ भने भवनको पहिलो तलादेखि छैठौँ तलासम्म करिव ५ सय कर्मचारीका लागि कार्यालय भवन प्रयोग हुने र सातौँ तलामा २ सय जना क्षमताको सभाकक्ष रहेको छ । उक्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षणको गुणस्तर सुधार एवं सूचना प्रविधिको प्रयोग गरी अन्तराष्ट्रियस्तरको बनाउने प्रयास भैरहेको उल्लेख गरेका छन ।
प्रतिक्रिया दिनुहोस