aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

देशैभरका यातायात समिति कम्पनीमा रुपान्तरित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
देशैभरका यातायात समिति कम्पनीमा रुपान्तरित

काठमाडौं । देशैभरका यातायात समिति कम्पनीमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् ।

महासंघले शुक्रबार रुपान्तरित यातायात सेवा सुरु गरेको जानकारी गराएको हो ।रुपान्तरित यातायात सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हिजोको अस्तव्यस्त यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी कम्पनी ‘मोडल’मा लगेको बताए ।

उनले यातायातलाई लगानी सुरक्षित क्षेत्रसमेत बनाउन सरकार लागेको बताए । मन्त्री महासेठले यातायात प्राधिकरण गठनसम्बन्धी कानुन बनाउन मस्यौदा एक साताभित्र संसदमा ‘टेबुल’ गर्ने पनि बताए ।

उनले यातायात क्षेत्रमा सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरेको भन्दै साझा यातायातमा सरकारले गरेको लगानीलाई सर्वसाधारणको सेवाका लागिमात्रै भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले यातायात व्यवसायीहरु स्वः नियमनमा बस्नुको विकल्प नभएको बताए ।

यातायात क्षेत्रमा बिचौलियाको अन्त्य गरिने भन्दै उनले गैरकानुनी क्रियाकलाप सह्य नहुने स्पस्ट पारे । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संघ–समितिमा रहेका चल, अचल सम्पत्ति, दायित्व र कर्मचारीलाई तत्काल प्राइभेट कम्पनीमा रुपान्तरण गर्न मन्त्री महासेठको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस