
काठमाडौं । नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ ।
अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भूसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सम्भावना छ । त्यसैले उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस