aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सरकारी कर्मचारीमा घुस मोह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
सरकारी कर्मचारीमा घुस मोह

सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ ।

केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा सक्रियता बढाएसँगै घुस्याहा कर्मचारी पक्राउ पर्ने क्रम बढेको हो ।

घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत फेरिँदै जान थालेकाले उनीहरूलाई पक्राउ गर्न समेत कठिन हुने गरेको अख्तियारका अनुसन्धान अधिकृतको अनुभव छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आर्थिक वर्ष सुरु भएलगत्तै एउटा महत्वपूर्ण अभियान ल्यायो । जुन अभियानअनुसार प्रत्येक सरकारी कर्मचारीहरू कार्यालयमा प्रवेश गर्नुअघि घुस नखाने शपथ लिएर प्रवेश गर्नुपथ्र्यो ।

तर, कर्मचारीहरूले यो अभियानलाई सहजै हावा खुवाइदिए । प्रधानमन्त्री कार्यालयले पनि सशक्त अनुगमन गर्न सकेन । प्रधानमन्त्री कार्यालयको अभियानलाई बिर्सन पुगेका कर्मचारीले अभियानलाई उल्टाइदिँदै धमाधम घुस खाने क्रमलाई तीव्र पारे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत आर्थिक वर्षमा स्टिङ अप्रेसन गर्ने क्रमलाई तीव्र पा¥यो तर पनि कर्मचारीहरूले घुस खान छोडेका छैनन् ।

अख्तियारका अनुसार स्टिङ अप्रेसनको क्रममा पछिल्लो एक वर्षमा मात्रै १ सय ६१ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै अध्ययनले भन्छ, ‘गत आर्थिक वर्ष २०७५÷७६ मा रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । अख्तियारका अनुसार सो अवधिमा १ सय ६१ जना राष्ट्रसेवक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे भन्छन्, ‘घुस खाने क्रम पहिला पनि थियो, अख्तियारको सक्रियताले उनीहरू धमाधम पक्राउ पर्दा त्यो बढेको देखिएको हो ।’

प्रमुख आयुक्त घिमिरेले अख्तियारको सक्रियता बढ्दा घुस खानेहरू पक्राउ पर्ने क्रममा वृद्धि भएकाले भ्रष्टाचार बढेको जस्तो देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस