aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जेलभित्रै भेटियो जासुसी पेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
जेलभित्रै भेटियो जासुसी पेन

जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामेरा फेला परेको छ ।

६ महिनअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरित जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।

जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धि दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबरजस्ती करणीमा जेल सजाय काटिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले जानकारी दिए ।

जबरजस्ती करणीको आरोपमा अदालतले थापालाई दोषी ठहर्याएको थियो । उनी २०७५ साल मंसिर २५ गते बर्दिया जिल्लाबाट सरुवा भएर बझाङ कारागारमा आएका हुन् ।

कारागारभित्रै कैदीले मदिरा र चरेससमेत सेवन गरेको सन्दर्भबारे सोधिएको प्रश्नको जवाफ दिँदै बोहराले भने, ‘घटना ६ महिनाअघिको हो । त्यतिबेलाका नाइके चौकिदार र सुरक्षाकर्मीको कमजोरीका कारण यस्तो घटना भएको हो । अहिले उनीहरु जेलमुक्त भइसकेका छन् । प्रहरी इन्चार्ज गणेश विकलगायत १५ जनालाई एकै पटक कारबाहीस्वरुप सरुवासमेत गरिसकेका छौं ।' यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस