
एजेन्सी । भारतीय रिजर्भ बैंकले अनिल अम्बानीको रिलायन्स क्यापिटलको बोर्डलाई खारेज गरेको छ । बैंक अफ महाराष्ट्रका पूर्व कार्यकारी निर्देशक नागेश्वर रावलाई नयाँ प्रशासक बनाइएको छ । कम्पनीको बोर्डमा अनिल अम्बानी, राहुल सरिन, छाया विरानी, थोमस म्याथ्यू र धनंजय तिवारीलगायत छन् । रिलायन्स क्यापिटलले नोभेम्बर २७ मा स्टक एक्सचेन्जलाई जानकारी दिएको थियो ।
यसले एक्सिस बैंक र एचडीएफसीलाई ६२४ करोड रुपैयाँ भारु ऋणको ब्याज तिर्न असफल भएको बताएको थियो । ब्याज ३१ अक्टोबरभित्र तिर्नुपर्ने थियो । एचडीएफसीले ४.७७ करोड रुपैयाँ र एक्सिस बैंकले ७१ लाख रुपैयाँ ब्याज तिर्नुपर्ने थियो । एचडीएफसीले १०.६ र १३ प्रतिशत ब्याज तिर्नुपर्ने थियो भने एक्सिस बैंकले ८.२५ प्रतिशत ब्याज तिर्नुपर्ने थियो। अप्रिल २०२१ मा, कम्पनीले गैर–परिवर्तनीय ऋणपत्रहरूमा ब्याज तिर्न सक्षम नभएको बताएको थियो ।
रिजर्भ बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । रिजर्भ बैंकले भने कि रिलायन्स क्यापिटलले सबै ऋणदाताहरूलाई भुक्तानी गर्न असफल भएका कारण संस्थागत सुशासनका मुद्दाहरू पनि बाहिर आएका छन् । जुन चिन्ताजनक छन । रिजर्भ बैंकले संस्थागत सुशासनको विषय निकै गम्भीर रहेको भन्दै कम्पनीको बोर्ड खारेज गरेको बताएको छ ।
रिलायन्स क्यापिटलले डिसेम्बर २०१८ पछिको वित्तीय नतिजा सार्वजनिक गरेको छैन । डिसेम्बर २०१८ मा यसको राजस्व ५६८ करोड रुपैयाँ थियो जबकि खुद नाफा ८९ करोड रुपैयाँ थियो । यसमा प्रवर्द्धकको १ दशमलव ५१ प्रतिशत हिस्सा रहेको छ । जनताको ९६ प्रतिशत शेयर रहेको छ ।
प्रवर्द्धकहरूमध्ये अनिल अम्बानीसँग ११.०६ लाख, टीना अम्बानीसँग २.६३ लाख, जय अनमोल अम्बानीको १.७८ लाख र जय अंशुलको १.७८ लाख शेयर छ । कोकिलाबेन अम्बानीसँग ५.४५ लाख शेयर छ । अनिल अम्बानीका दुई छोरा जय अनमोल र जय अंशुल छन् ।
प्रतिक्रिया दिनुहोस