
एजेन्सी । युरोपेली संघले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रतिद्वन्द्वीका रूपमा हेरिने विश्वव्यापी लगानी योजना घोषणा गर्न लागेको छ । यो बृहत् योजनामा डिजिटल, यातायात, जलवायु र ऊर्जा योजनामा ठोस कदम समेटिने स्रोतको भनाइ छ । यसलाई पश्चिमाहरूले अफ्रिका र अन्य चिनियाँ प्रभावलाई रोक्ने प्रयासका रूपमा हेरिरहेका छन् ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बुधबार यो ’ग्लोबल गेटवे’ पहललाई विश्वसामु प्रस्तुत गर्नेछिन् । युरोपेली संघले आफ्ना सदस्य राष्ट्रहरू, वित्तीय संस्थाहरू र निजी क्षेत्रबाट अर्बौं युरोको फाइदा कसरी लिन सकिन्छ भनेर हेरिरहेको छ ।
भोन डेर लेयनले सेप्टेम्बरमा आफ्नो ’स्टेट अफ द युनियन’ भाषणमा भनेका थिए, “हामी संसारभरका मानिसहरूलाई वस्तु र सेवाहरूमा जोड्न उच्च गुणस्तरीय पूर्वाधारमा लगानी गर्न चाहन्छौं ।’’बुधबार जारी हुने १४ पृष्ठको दस्तावेजले चीनको रणनीतिको प्रतिद्वन्द्वीका रूपमा आफूलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने सम्भावना छैन । मंगलबार पनि यस योजनाको बारेमा युरोपेली आयोगले चीनको नाम पनि लिन अस्वीकारको छ ।
तर, जर्मन मार्शल कोषका वरिष्ठ ट्रान्सएट्लान्टिक फेलो एन्ड्रयू स्मल भन्छन्, संकेतहरू स्पष्ट छन, “यदि त्यहाँ बेल्ट एण्ड रोड निसिएटिभ नभएको भए, त्यहाँ ’ग्लोबल गेटवे’ पनि हुने थिएन ।’ एन्ड्रयु स्मल भन्छन्, “यो ती देशहरूका लागि युरोपबाट आएको विकल्प जस्तै हुनेछ । चीनबाट ऋण लिनेहरूसँग अर्को विकल्प हुनेछ । यो युरोपको पहिलो गम्भीर प्रयास हो ।’’
बेल्ट एन्ड रोड चीनको विदेश नीतिको केन्द्रविन्दु रहेको छ । यसअन्तर्गत चीनले नयाँ सडक, बन्दरगाह, रेलमार्ग र पुलमा पैसा लगानी गरेर विश्वभर व्यापारिक सम्बन्ध विकास गरेको छ । चीनको यो रणनीति एसिया, इन्डो–प्यासिफिक, अफ्रिका र युरोपेली युनियनको छिमेकीसम्म पनि पुगेको छ । चीनको यो नीतिलाई ‘ऋण फन्दा’ र ‘ऋण जाल’ जस्ता संज्ञा दिइएको छ ।
तर, कतिपयले यो तस्विर वास्तवमा योभन्दा जटिल भएको पनि बताउँछन् किनभने ठूलो रकम ऋण लिनु जोखिममुक्त हुँदैन । यसबाहेक चीनले यी देशहरूको आवश्यकता पूरा गरिरहेको छ जुन संसारका अन्य देशहरूले गरिरहेका छैनन् ।
जे होस्, विश्वभर चीनको आर्थिक र भूराजनीतिक पदचिन्ह पश्चिमासँगको तनाव बढ्दै गएको छ । यस कदमबाट, युरोपेली संघले आफ्नो प्रभाव र स्रोतहरूलाई दिशा दिन प्रयास गर्नेछ । एन्ड्रयू स्मल्स भन्छन् कि यो ठूलो परीक्षा हुनेछ ।
सबैभन्दा ठूलो प्रश्न यो छ युरोपले वास्तवमा यस भूराजनीतिक क्षेत्र मार्फत चीनलाई चुनौती दिन सक्छ । स्माल भन्छन्, “प्रश्न यो पनि हो कि ईयू आन्तरिक नोकरशाही लडाइँमा फसेको छ कि छैन? यदि यो प्रयासमा युरोप असफल भयो भने यो ठूलो गल्ती हुनेछ ।’’
एक कूटनीतिज्ञले भनेः “युरोपले अन्ततः यस मुद्दामा छाप लगाउन खोजिरहेको छ। यो राम्रो संकेत हो। एकै समयमा यो हाम्रा सहयोगीहरू -अमेरिका र बेलायतको साझा हितसँग मेल खान्छ ।’’
तर, सेन्टर फर ग्लोबल डेभलपमेन्टका सिनियर फेलो स्कट मोरिसका अनुसार यो कदमले प्रतिस्पर्धा झनै बढाउन सक्छ । अमेरिकाले पनि गत वर्ष जुनमा ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ पहल सुरु गरेको थियो । “यो धेरै भीडभाड भएको बजार हो जहाँ धेरै ब्रान्डहरू एकअर्कासँग प्रतिस्पर्धा गर्छन्,“ मोरिस भन्छन् ।
यद्यपि, स्कट मोरिस आशावादी छन् कि ग्लोबल गेटवे पहल सफल हुनेछ। चीनसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि महत्त्वपूर्ण छ, मोरिस भन्छन्, युरोपले विकासशील देशहरूलाई मद्दत गर्न सक्छ जसलाई उनीहरूको अवस्था सुधार गर्न ऋण चाहिन्छ । युरोपियन युनियनको ’कलेज अफ कमिसनर्स’ ले यो योजनालाई अनुमोदन गरेपछि उर्सुला भोन डेर लेयनले बुधबार यसलाई विश्वसामु प्रस्तुत गर्नेछिन् । बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस