aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बाग्मती प्रदेशको सभापतिमा ईन्द्र बानियाँले गरे  उम्मेदवारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
बाग्मती प्रदेशको सभापतिमा ईन्द्र बानियाँले गरे  उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । उनको उम्मेदवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् । 

बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने, ‘हामी १४औं महाधिवेशनमा जुटिरहेका छौं । १६ गते प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यतामा देशलाई डोर्याएको छ ।’

उनले कांग्रेसले लिएको विचार र नीतिका कारण आज पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । ‘शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने हाम्रो उद्देश्य छ । अब आन्दोलन र परिवर्तनको गाथा धेरै लामो भैसक्यो । गणतन्त्र ल्याउँदासम्म हाम्रो पार्टीले अगुवाई भूमिका खेलेको हो । अब कांग्रेसले आन्दोलन र क्रान्तिलाई विश्राम गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्नुपर्छ ।’ उनले भने, ‘पार्टीले यो अभियान थाल्नुपर्छ । कांग्रेस गरिब, किसान र मजदुरको पार्टी हो । यो कुरा गर्ने पार्टी होईन, काम गर्ने पार्टी हो । कम्युनिष्टबाट सपनाको पोकै पोका, जनतालाई धोकै धोका भयो । हामी त्यस्तो गर्दैनौं । हिजो जनताले कम्युनिष्टलाई प्रचुर बहुमत दिएकै हुन्, तर प्रचुर बहुमत पाएर नेकपाले केही गर्न सकेन् । बरु, जनतामा निराशा छायो ।’ 

बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए । उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध बनाउन चाहन्छौं । प्रदेशमात्रै होईन, अब कांग्रेसको नेतृत्वमा देशलाई नै समृद्ध बनाउन चाहन्छौं । कांग्रेसले धर्म र राजा खोज्ने सबैलाई जोड्ने काम गरेको छ । हामीले जनता नै भगवान हो भनेर हिँडेका छौं । हामी मानवताको भावनाले काम गर्छौं । नेपाली कांग्रेले गरेको राजनीति जात, धर्म र कुनै संस्थाको नाममा होईन, हामीले जनताको सेवाको लागि राजनीति गरेको हो । कांग्रेस बास्तवमा जनताकै जगमा उठेको पार्टी हो । हामी विगतदेखि वर्तमानसम्म यही बाटोमा छौं । सबैको आकर्षणको केन्द्रको रुपमा कांग्रेस रहँदै आएको छ ।’

उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए । उनले भने,‘मेरो उम्मेद्धवारी घोषणासभामार्फत म भन्न चाहन्छु–यो प्रदेशलाई नेपाली कांग्रेसले लिड गर्ने हो । जनताको बीचमा गएर जित हाँसिल गर्ने हो । अहिले मैले उम्मेद्धवारी घोषणा गर्दैमा यहाँ कोही जितेको हुँदैन्, र कोही हारेको हुँदैन् । जिम्मेवारी लिने हो । हामीलाई विश्वास छ– भीमसेनदास प्रधान पनि हामीसँग जोडिन आउनुहुन्छ । उहाँ पूरानो र सक्रिय नेता हो । हामीले पनि यसमा फराकिलो भएर समेटेर जान्छौं । हाम्रो यो भावना हो । हाम्रो भावना बुझेर उहाँ हामीसँग आउनुहुन्छ भन्ने विश्वास राखेको छु ।’ उनले आफ्नो उम्मेद्धवारी घोषणासभामा उपस्थित् सबै नेता तथा कार्यकर्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । उनले भने,‘यो कार्यक्रममा सहभागी हुनुहुने सबै केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, नेताहरु, प्रदेशका मन्त्रीहरु, सांसदहरु सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ 
 

प्रतिक्रिया दिनुहोस