aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बाढीले क्षतिग्रस्त तल्लो मोदी जलविद्युत् आयोजना सुचारु

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, १६ मंसिर २०७८
बाढीले क्षतिग्रस्त तल्लो मोदी जलविद्युत् आयोजना सुचारु

पर्वत । १० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरेको छ । गत भदौ १७ गते रातीको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति भएपछि उत्पादन ठप्प थियो । झन्डै तीन महिनापछि जलविद्युत् आयोजनाको संरचना मर्मत गरिएसँगै उत्पादन सुचारु भएको हो ।

कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित उक्त आयोजनाको विद्युत्गृह, इन्टेक, नहर र टावरमा बाढीले क्षति पुर्‍याएको थियो ।

प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तर प्रयासपछि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पुर्याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायत संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादन गृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।

आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी १ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो ।

त्यसबाहेक कम्पनीले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो । निर्देशक गौतमका अनुसार बाढीपहिरोका कारण आयोजनाको नोक्सान मात्रै ५ करोडभन्दा बढी भएको छ । अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप २ करोड आम्दानी घटेको उनले बताए ।

आयोजना मर्मत पूर्ण रूपमा अझै नसकिएको उनको भनाइ छ । यसअघि जेठ ३१ गते राती सुन्दरे खोलामा आएको बाढीले नहर पुरिँदा झन्डै एक महिनासम्म आयोजनाले विद्युत् उत्पादन गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस