
अर्थशास्त्रमा एउटा शब्दावलीको प्रयोग गर्ने गरिन्छ- पोटेम्किन गाउँ। यसको शाब्दिक वा लाक्षणिक अर्थ हुन्छ, सत्य लुकाउने कृत्रिम सत्यको निर्माण र प्रदर्शन। जसको एक मात्र उद्देश्य भनेको आर्थिक रूपमा खराब अवस्थामा पुग्दै गरेको देशलाई राम्रो हुँदै गएको देशका रूपमा बाहिरी आवरण देखाएर धोकापूर्ण विश्वास दिलाउनु ताकी मानिसहरू लाई भ्रम परोस् कि स्थिति वास्तवमा भन्दा धेरै राम्रो छ।
यो शब्दको उत्पत्ति १८ औँ शताब्दीमा रुसी सैन्य नेता ग्रिगोरी पोटेम्किनले बनाएका नक्कली गाउँहरूमा भएको हो। आफ्नी पूर्व प्रेमिका समेत रहेकी महारानी क्याथरिन द ग्रेटबाट त्यहाँको गरिबी र दर्दनाक स्थिति लुकाउन र आफ्नो कार्य कुसलाताको प्रदर्शन गर्नको लागि पोटेम्किनले कृत्रिम बस्ती र सहर बनाएका थिए। उनले ओटोम्यान साम्राज्यमाथि रुसको विजयपछि प्राप्त क्रिमिया र अन्य क्षेत्रहरूको सन् १७८७ मा निरीक्षण भ्रमणमा निस्किएकी सम्राज्ञी क्याथरिन द्वितीयलाई देखाउन कृत्रिम सहर बनाएर समृद्धिको प्रदर्शन गरेका थिए । उनले राम्रा सहरका प्रतिकृतिहरू र फ्यान्सी गगनचुम्बी भवनका अग्र भाग मात्र खडा गरेर यथार्थ अवस्था भन्दा राम्रो देखाएका थिए । जबकि वास्तवमा त्यहाँ लगातारको युद्धको कारण मानिसहरू अति गरिबी र दुख कष्टपूर्ण जीवनयापन गरिरहेका थिए।
त्यस बेलादेखि, 'पोटेम्किन गाउँ'ले वास्तविक अवस्था लुकाउनको लागि सिर्जना गरिएको गलत तथ्य वा कथालाई प्रतिनिधित्व गर्दछ। त्यसैले हालको हाम्रो आर्थिक सूचकाङ्क ठिकै र सकारात्मक नै छ भन्ने सरकारी तथ्य/तथ्याङ्क माथि टिप्पणी गर्न यहाँ पोटेम्किन गाउँको स्मरण गरिएको हो।
नेपाली पोटेम्किनको चाहना
महामारीले अर्थतन्त्रलाई तहसनहस पार्दा समेत हाम्रो आर्थिक अवस्थामा खासै ठुलो असर नपरेको जस्तो देखिंदैछ। तर, के यस भित्र छिरेर हामी हेरिरहेका छौँ ? यदि भित्र पस्नका लागि ढोका खोल्ने हो भने स्पष्ट हुन्छ कि हामी कसरी भ्रममा बाँचिरहेका छौँ। हाम्रा आर्थिक धरोहरहरू कुनै पनि बलिया र यथार्थपरक छैनन् तर पनि हामी भनिरहेका छौँ कि हाम्रो अर्थतन्त्र ठिक दिशामा अघि बढिरहेको छ।
हाम्रो बुझाई र हेराइ धोका पूर्ण छ भन्ने सबैभन्दा बलियो आधार भनेको हाम्रो शेयर बजारको अनावश्यक बढोत्तरी हो। सरकारले त्यसलाई अझै फुलाएर आम लगानीकर्तामा अझ गहिरोगरि भ्रम छर्ने प्रयास गरिरहेको भए पनि राष्ट्र बैङ्क त्यो इच्छामा तगारो बनेको छ। फलस्वरूप अर्थ मन्त्रालयमा बसेका नेपाली पोटेम्किनसँग केन्द्रीय बैंकको दुरी बढेको महसुस गर्न सकिन्छ। तथापि हामीले अहिले पनि बुझ्ने पर्छ कि नेपाली पुँजी बजार बारेको हामी आम लगानीकर्ताको बुझाई धोखा धडी पूर्ण हुन सक्छ। त्यसैले, हामीले अगाडिको ढोका खोल्न र वास्तविक अर्थतन्त्र अन्वेषण गर्न जरुरी छ ।
दीर्घकालीन रूपमा दिगो आर्थिक वृद्धि हुने हो भने हामीले गरेका सबै खालका लगानीको सम्पत्ति मूल्यहरूलाई त्यसले समर्थन गर्दछ। तर, हाम्रो अर्थतन्त्रमा त्यस्तो सम्भावना छैन। हामी अधिकांश लगानीकर्ताहरू शेयर बजारको परिसूचक हेरेर छोटो अवधिका लागि देखिएका पोटेम्किन अर्थतन्त्रबाट मन्त्रमुग्ध हुने र थप लगानीका लागि हौसिने गरिरहेका छौँ। यसरी पोटेम्किन अर्थव्यवस्था र वास्तविक अर्थतन्त्र बिचको भिन्नता छुट्याउन नसक्नु आम लगानीकर्ताहरूको लागि समस्याग्रस्त हुनेछ।
कथाको व्यापार
आम रूपमा मानिसहरूलाई भ्रममा राख्न बढ्दो आर्थिक सुधारको कथा सुनाउने काम अहिले व्यापक रूपमा भइरहेको छ। यस्ता कथाले आम जनता र लगानीकर्तालाई लामो समयसम्म बहकाउन सक्छ। जसका लागि निकै आकर्षक आर्थिक वृद्धिको लक्ष्य राख्ने र त्यता तिर नै मुलुक गइरहेको तथ्याङ्क सार्वजनिक गर्ने गरिएको छ। यसकालागि आर्थिक परिसूचकहरू बलियो देखाउने रिपोर्टहरू सार्वजनिक गर्ने काम भइरहेको छ। हालका दिनहरूमा त्यस्ता तथ्याङ्कहरू बाहिर ल्याईदैछ जसले अर्थतन्त्रको अनुहार एकदम वास्तविक झैँ देखिन्छ।
सरकारले बजेटमा घोषणा गरे झैँ ७ प्रतिशतको आर्थिक वृद्धि हाँसिल हुने तहमा नै अर्थतन्त्र रहेको दाबी गरिंदैछ। ऐतिहासिक रूपमा आर्थिक सुधारहरू भइरहेको अघिल्लो साता सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षामा समेत उल्लेख गरिएको छ। त्यहाँ भनिएको छ- बाह्य क्षेत्र व्यवस्थापनमा दबाब पर्दै गएको भएता पनि समष्टिगत आर्थिक स्थायित्व कायम रहेको छ । त्यसै गरी बजेटमा ६.५ प्रतिशतको सीमामा मुद्रास्फीति राख्ने भनिएकोमा त्यो पनि 'नियन्त्रित छ' भन्ने दाबी राष्ट्र बैंकको छ। विभिन्न रिपोर्टहरूले के पनि देखाइरहेको छ भने खुद्रा बिक्री पछिल्ला केही वर्षको भन्दा अहिले राम्रो र उत्साहप्रद छ।
आर्थिक गतिविधिका अन्य धेरै क्षेत्रहरू चलायमान हुन थालेको भन्दै आशाको सञ्चार गर्ने काम भइरहेको छ। केही दबाबमा रहेको एक मात्र प्रमुख आर्थिक क्षेत्र रोजगारी म,मात्र हो। यद्यपि, सङ्क्रमण दर कम हुँदै गएकोले नीतिगत सहजीकरणबाट आर्थिक गतिविधि विस्तार हुन सघाउ पुगेको छ भन्ने ठहर राष्ट्र बैंकको रहेको देखिन्छ । यसरी हेर्ने हो भने अर्थतन्त्र धरापमा पर्दैछ भनेर कल्पना नै समेत गर्न सकिँदैन। फेरि पनि प्रस्ट यो हो कि के यो दिगो छ ?
वास्तविक अर्थतन्त्र
कुनै शङ्का छैन कि हाम्रा आर्थिक तथ्याङ्क अविश्वसनीय रूपमा बलिया छन् । जे होस्, के बुझ्न आवश्यक छ भने आर्थिक गतिविधि दिगो हो वा कमजोर काठहरूले बनाएको एउटा कमजोर अग्र भाग मात्र हो जुन छोटो क्रममा भत्कने छ । आर्थिक पुनरुत्थान र यसको स्थायी शक्तिलाई ठिकसँग जाँच्न हामीले यसको पछाडिको टेकोलाई जाँच गर्नुपर्छ।
महामारीको मन्दी असामान्य थियो। विश्व अर्थतन्त्र अभूतपूर्व रूपमा बन्द भयो। ठप्प रहेको आर्थिक गतिविधि चलायमान गर्न सरकारको वित्तीय प्रतिक्रियाको योगदान ठुलो छ। सरकारले ठुला सहुलियतपूर्ण लगानीको घोषणा गर्यो। बजारमा पैसा पठाउने अनेकौँ उपायहरूको खोजी गर्यो। यसो गरिरहँदा हाम्रो ढुकुटीको अवस्था कस्तो बन्यो ? हाम्रो ऋण कति थपियो ? हामीसँग रहेको शोधान्तर बचतको स्थिति कस्तो छ ? अहिले हामीले अर्थतन्त्र चलायमान बनाउन बजारमा पठाएको पैसाले के कस्ता बस्तुको आयत भइरहेको छ। उत्पादन क्षेत्रमा त्यो कति गयो ? यी प्रश्नको जवाफ खोज्ने हो भने निराशा बाहेक अरु केही भेटिँदैन।
यो लेख सरकारले अर्थतन्त्रलाई सहयोग गर्नु ठिक हो कि होइन भन्ने बारेको होइन। बरु हाम्रो भोले कस्तो हुँदै छ भन्ने चिन्तामा केन्द्रित हो। हाम्रो अर्थतन्त्र धानेको वैदेशिक रोजगारीमा दबाब कायमै छ। नेपालले कुनै ठुलो वैदेशिक सहायता प्राप्त गर्ने सम्भावना लगभग शून्य नै रहेको देखिन्छ। प्रत्यक्ष वैदेशिक लगानी आउने अवस्था झन् छैन। आन्तरिक रूपमा उत्पादन हुने र अर्थतन्त्रलाई भरथेग गर्ने कुनै क्षेत्र छैन जसमा भर पर्न सकियोस्।
मुलुकको कुल गृहस्थ उत्पादनमा ठुलो हिस्सा ओगटेको कृषि सर्वाधिक उपेक्षित छ। विगत तीन वर्ष देखि धान बालीमा लागेको सामान्य 'डढुवा रोग' को उपचार हुन नसकेर उत्पादनमा ठुलो ह्रास आएको छ। सम्बन्धित निकाय त्यो सबै थाहा पाएर पनि बेखबर झैँ देखिन्छ। मल, बिउको समस्या सनातन नै बनेको छ। अनि हामी भन्दछौँ- अर्थतन्त्र सही दिशामा छ।
सारांश
जबसम्म पोटेम्किन अर्थतन्त्रको जगले आर्थिक दबाबको सामना गर्न सक्छ त्यो मितिसम्म हाम्रो भ्रम सही नै ठहर्छ। यदि हाम्रा नीति निर्माताले फरक ढङ्गले नसोच्ने हो भने चाडै नै हाम्रो अर्थतन्त्रको जग चकनाचुर हुनेछ र हालको पोटेम्किन अर्थतन्त्र पतन हुनेछ। त्यो बेला धेरै लगानीकर्ताहरूले बुझेको भन्दा अर्थतन्त्रको धेरै खराब अवस्था प्रकट हुनेछ।
हाम्रो अर्थतन्त्र जति छ भनिएको छ त्यति बलियो छैन । यो केवल वित्तीय र मौद्रिक नौटङ्कीका साथ फुलाइएको एक बेलुन मात्र हो। अझ शेयर बजारलाई त धेरै नै पम्प गरिएको अवस्था छ। जब हावा खुस्किन्छ हामीले असली आकार देख्छौँ। अनि समग्र अर्थतन्त्रमा पनि खासमा अहिले बिरामी अर्थतन्त्रको वरिपरि 'पोटेम्किन अर्थतन्त्र' निर्माण गरिएको छ। जब त्यसलाई अड्याइएको टेको भाँचिन्छ त्यो तुरुन्तै ढल्ने वाला छ।
प्रतिक्रिया दिनुहोस