aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

'शिक्षा प्रणाली महँगो भएकोले भ्रष्टाचार मौलायो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
'शिक्षा प्रणाली महँगो भएकोले भ्रष्टाचार मौलायो'

काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने घोषणा गरेको छ । 

नेविसंघले यही साउन ६ गते शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने, साउन ८ गते शैक्षिक शुल्कवृद्धिको विरुद्धमा अन्तरक्रिया तथा छलफल गर्ने, साउन १० गते चर्को शुल्कवृद्धिको विरुद्धमा सडक संघर्ष गर्ने र त्यसपछिका चरणबद्ध रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिने जनाएको छ। 

नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल (काका) ले तत्काल शैक्षिक शुल्क वृद्धि फिर्ता नलिए नेविसंघ सशक्त सडक संघर्षमा उत्रिने चेतावनी दिए । 

दाहालले देशकै समग्र शिक्षा प्रणाली नै महँगो भएकोले भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले भने,‘सरकारी उच्च तहका कर्मचारीको तलब नै ३८ हजार छ । तर, उसले आफ्ना दुई वटा बच्चा पढाउँदा पचासौं हजार खर्च गरिरहेको छ । यसमा सिधै देखिन्छ कि उसको समग्र आम्दानीभन्दा दुईवटा बच्चा पढाएको खर्च दोब्बर हुन आउँछ । भ्रष्टाचार यहीँबाट सुरु भएको छ। यसलाई रोक्न जरुरी छ ।’

त्यस्तै, कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । भण्डारीले कुन कलेजले कति शुल्क वृद्धि गरेको छ भनेर तथ्यांक नै सार्वजनिक गरेका थिए । 

उनले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढि शुल्क लिने कलेजमा ग्लोबल कलेज र के.एम.सी कलेज रहेका छन् । उनले चर्को शुल्क लिने विभिन्न २० वटा कलेजको नाम र उनीहरुले लिने गरेको शुल्कसमेत सार्ववजनिक गरेका थिए । 

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष क्षितिज भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । सरकारले प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी अध्यापन गराउने कलेजको सम्बन्ध रोकेको भएपनि शिक्षामन्त्रीले गुल्मीलगायतका १२ कलेजलाई चोर बाटोबाट सम्बन्धन दिलाएको आरोप लगाए । 

त्यस्तै, कार्यक्रमका सभापति समेत रहेका नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठले अभिभावककहरुको ढाड सेक्नेगरि गरिएको अवैज्ञानिक शुल्कवृद्धि तत्काल खारेज गर्नुपर्ने माग गरे । 

त्यस्तै, श्रेष्ठले मेडिकल शिक्षा अध्ययनपनि नेपालमा दिनप्रतिदिन महँगो हुँदै गएकोमा आक्रोश पोखे । उनले भने,‘सरकारले एम.बि.बि.एस.लगायतका मेडिकल शिक्षा अध्ययनमा एक किसिमको मापदण्ड बनाएपनि अहिलेसम्म त्यसलाई कार्यान्वयन गर्न सकेको छैन् ।’ 
 

प्रतिक्रिया दिनुहोस