aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राप्रपा महाधिवेशनः मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्ने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १७ मंसिर २०७८
राप्रपा महाधिवेशनः मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।

केन्द्रीय नेतृत्व चुन्न काठमाडौंमा जारी महाधिवेशनको प्रक्रियामा अध्यक्षका दुई उम्मेदवार कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानसहित मैदानमा उत्रिएका छन् । दुवै समूहले बिहीबार आ–आफ्नोतर्फबाट प्यानल घोषणा गरेका हुन् । थापाले आफ्नो समूहबाट ८ पदाधिकारी र १ सय ४९ सदस्यीय केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएका हुन् ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने तय भएको हो । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीले थापाले छानेका छन् ।

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा विक्रम पाण्डेलाई राखेका छन् । उनी दुवै समूहबाट साझा उम्मेदवार बनेका छन् । यसैगरी, अन्य उपाध्यक्षमा यो समूहबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा डा। धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार भएका छन् । राप्रपाको महाधिवेशनबाट अनुमोदन भएको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । यस्तै, जारी महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो । राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना ८ पुरुष र ६ महिला, मधेसी ११ जना ६ पुरुष, ५ महिल, उत्पीडित तीन जना २ पुरुष १ महिला, कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना एक महिला एक पुरुष मुस्लिम तीन जना २ पुरुष एक महिला, थारू दुई जना एक पुरुष एक महिला र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस