aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘पिलासले काँचो सुन बटारेर बेरुवा औँठी हो भन्नेलाई हामी त्यसै छोड्दैनौँ’

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, १७ मंसिर २०७८
‘पिलासले काँचो सुन बटारेर बेरुवा औँठी हो भन्नेलाई हामी त्यसै छोड्दैनौँ’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले तीन दिनमा ४८ केजी सुन नियन्त्रणमा लिएको छ । विद्यमान कानुन विपरीत गरगहनाका नाममा काँचो सुन ल्याएको भन्दै भन्सार कार्यालयले विभिन्न मुलुकबाट आएका ९ सय ८५ नेपाली यात्रुबाट ४८ किलो १ सय १० ग्राम सुन नियन्त्रणमा लिएको हो । 

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले मङ्सिर १३, १४ र १५ गते उक्त सुन नियमनका लागि नियन्त्रणमा लिएको बताए । उनले भने, ‘नियन्त्रणमा लिएको मध्ये ७५५ जना यात्रुले करिब ३० किलो सुन भन्सार जाँच पास गराएर राजश्व तिरेर लगिसकेका छन् । बाँकी १८ केजी सुन भने कार्यालय मै रहेको छ ।’ भन्सार तिरेर लगेको सुनबाट यसबिच २ करोड ८४ लाख अतिरिक्त राजश्व सङ्कलन भएको उनले बताए ।   

भट्टराईका अनुसार कानुनीरुपमा नेपाली र गैर आवासीय नेपालीले सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था छ । यसरी साथमा लिई आउन पाउने परिमाणसम्मको गहना ल्याउँदा कुनै पनि महसुल लाग्नेछैन । थप सय ग्रामसम्मका गरगहना ल्याउँदा प्रतिदश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र त्यसभन्दा बढी थप सय ग्राम ल्याउँदा प्रतिदश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार बुझाउनुपर्ने हुन्छ । 

त्यस्तै, विदेशबाट फर्किएका यात्रुले एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्थासमेत रहेको छ । तर, यसरी ल्याउने सुनमा भने ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार पाँच सय र त्यसपछिको ५० ग्राममा प्रतिदश ग्राम १० हजार पाँच सय रुपैयाँ भन्सार महसुल बुझाउनुपर्ने हुन्छ । उनले भने, ‘अहिले पनि हामीले ५० ग्रामसम्मको वास्तविक सुनका गहना हुन त्यसलाई भन्सार छुटमै लैजान दिइरहेका छौँ । तर, अहिलेको हाम्रो अभियान भनेको सुनका गहना भनेर काँचो सुन ल्याउने जुन प्रवृत्ति बढेको छ त्यसलाई रोक्ने हो।’  

नेपालमा वैध मार्गबाट अवैध सुन भित्रिरहेको उनले बताए । उनले भने, ‘पछिल्लो तीन दिनमा ४८ किलो सुन नेपाल भित्रिएको छ । यो तथ्याङ्क हेर्ने हो भने नेपालमा वैध मार्गबाट अवैध सुन भित्रिरहेको छ ।’ सुनका तारलाई काटेर केही घुमाएर वाला हो भन्दै सुन भित्र्याउने चलन बढेको उनले बताए । ‘नेपाली संस्कार संस्कृतिमा हामी सुनका गहनाहरू लगाउने गर्छौँ । त्यो संस्कारलाई ख्याल गरेर कानुनी व्यवस्था गरियो । सरकारले सामाजिक परिवेशलाई हेरेर कानुन बनायो’, प्रमुख भट्टराईले अगाडी थपे, ‘सुनका तारलाई काटेर केही घुमाएर वाला हो भन्दै सुन भित्र्याउने प्रवृत्ति बढ्दो छ । सुनका तारलाई पिलासले चट्ट काट्ने अनि यसो घुमाएर वाला हो भन्दै सुन भित्र्याउन केही गिरोहहरू सक्रिय रहेको पाइएको छ ।’  

उनका अनुसार सरकारले असल मनसायले बनाएको नीतिगत व्यवस्थाको दुरुपयोग गर्दै तस्करहरूले यस्तो काम गरिरहेका छन् । गहना हुनका लागि गहनाका फिचरहरू हुनुपर्छ । असल मनसायले काम गर्नका लागि कानुन पर्याप्त हुन्छ । उनले भने, ‘गलत मनसाय राख्नेहरूका लागि पनि हामीले त्यही किसिमले हेर्नु पर्ने जरुरी हुन्छ । कानुनको दुरुपयोग गरेर गहना भनेर अवैध सुन भित्रिन थालेको पाइएपछि यसलाई हामीले नियमन गर्न थालेका हौँ ।’ 

राजस्व छल्ने नियतले काँचो सुनलाई समेत गहनाका रूपमा ल्याएपछि सरकारले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए । उनले भने, ‘हाम्रो अहिलेको उद्देश्य भनेको भरिया बनेर अरूको सुन ल्याउने ती सोझासाझा मजदुरलाई कारबाही गर्ने हुँदै होइन । अवैध कारोबारमा संलग्न हुन नदिनु मात्र हो ।’ 

भन्सार कार्यालयले यात्रुको व्यक्तिगत प्रयोगका माल वस्तु अन्तर्गत गरगहनाका नाममा काँचो सुन भित्रन थालेपछि त्यसलाई रोक्न १३ मङ्सिरदेखि अपरेसन सुरु गरेको हो । प्रमुख भट्टराईले भने, ‘हामीले नेपालको समग्र स्थितिको अध्ययन गरिसकेपछि कतै सुनको आयातको निगरानीलाई बढायौँ । हामीले यो निगरानी नजिकबाट नियाल्दा यहाँ केही समस्या छ भन्ने निष्कर्ष निकाल्यौँ । यसले गर्दा हामीले अपरेसन सुरु गरेका हौँ ।’ 

साथै उनले चेकजाँचको क्रममा भेटिएको घटनाको अनुभव समेत सुनाए, ‘बुधबार मात्रै मैले चेकजाँचको क्रममा नौ तहको बेरुवा औँठी ल्याएको समेत पाए । तपाइ हामीले बजारमा देख्ने भनेको तीन वा चार तह सम्मको बेरुवा औँठी हो । तर, अहिले त विदेशबाट आउँदा  नौ तहसम्मको औँठी लगाएर आउने र मेरो हो भन्दै दाबी गर्ने गरेको देखियो । बिहीबार मात्रै चार जनाको एउटा परिवारले चार वटा बेरुवा औँठी लिएर आएको भेटाइयो । जुन २५–२५ ग्रामको थियो । १०–१२ वर्षको बच्चाले पनि अढाई तोलाको बेरुवा औँठी लगाएर आएको पाइयो। हाम्रो नेपाली समाजलाई हेर्ने हो भने यो मात्रामा बच्चालाई सुन खासै लगाइदिने चलन छैन ।’ उनले अगाडी थपे, ‘यसरी हेर्दा सिधै के भन्न सकिन्छ भने यसलाई गहना भन्दै दाबी गर्न पाइन्छ भनेर किनिएको काँचो सुनको तारलाई बटारेर ल्याइएको हो । यसरी गलत मनसायले ल्याइएका सुन हामीले नियमन गर्न थालेका हौँ ।’ 

त्यस्तै, उनले सबैभन्दा बढी दुबईबाट सुन नेपाल भित्रिएको समेत जानकारी दिए । उनी भन्छन्, ‘हामीले प्रत्यक्ष गएर देखेको त होइन तर, यहाँ आउनेहरूबाट थाहा पाए अनुसार दुबईको एयरपोर्टमा सुनका वाला हात हातमा लिएर बसेका हुन्छन् । जुन व्यक्तिहरू अवैध कारोबार गर्नेका प्रतिनिधि हुन्छन् । र, नेपाल आउने यात्रुहरूलाई हात, कान, घाटीमा हेर्‍यो अनि उनीहरूसँग कुनै गहना छैन भने यो वाला नेपाल लगिदे तिमीलाई केही पैसा दिन्छु भनिँदो रहेछ । एउटा सामान्य श्रमिक दुई चार वर्ष त्यहाँ काम गरेर फर्केको हुन्छ । आउँदा बाटोमा फेरि केही पैसा कमाउने आशालाग्दो काम पायो भनेर त उ त्यो गर्न तयार हुन्छ । पैसाको लोभमा सोझासाझा श्रमिकहरू फस्ने गरेका छन् । तर, जब उसलाई सुन दिइँदो रहेछ उसको हुलिया अनुसारको त्यही फोटो खिचिँदो रहेछ । र, उसलाई भनिँदो रहेछ कि तिमीलाई नेपालका कोही मानिस भेट्न आउँछ । को आउँछ, कस्तो आउँछ भनेर सुनाइँदैन । सँगै अर्को होटेलमा बस्ने खाने व्यवस्था पनि मिलाइदिन्छु भनिने रहेछ । एयरपोर्टबाट होटेलसम्म हाम्रै मान्छेले ट्याक्सीले पुर्‍याइदिन्छ । त्यसमा केही पैसा पनि दिइनेछ भनेर लोभ्याउने गरिँदो रहेछ ।’ 

आफूहरूले गर्ने कारबाही प्रक्रियाबारे भट्टराईले भने, ‘सामान्य अवस्थामा कुनै व्यक्तिले सुन लगाएर आएका छन् जसको मनसाय राजश्व वा भन्सार प्रशासनलाई छल्ने नदेखिएको अवस्थामा भन्सार तिराएर छोड्छौँ । जसले तिर्न सक्छन् उनीहरूले तिरेर लैजान्छन् । नसक्नेहरूको सुन डिपोजिटमा राखेका हुन्छौँ । त्यसलाई ६० दिनभित्र भन्सार तिरेर लैजान भन्छौँ । तर, जो विदेशबाट आउँदा भन्सार छल्ने मनसाय राखेर गोप्य ढङ्गले जस्तोः मलद्वार, अन्डरवेयर, जुत्तामा लगायत ठाउँमा राखेर सुन नेपाल भित्राउने गर्छन् उनीहरूलाई चाहिँ नियन्त्रणमा लिएर प्रचलित कानुन बमोजिम मुद्दा चलाउने गर्छौँ ।’ 

सुन बोकेर नेपाल भित्रिने कतिपय मजदुरहरू तत्काल धरौटी राख्न नसकेर सुन छोडेर जान्छन् तर रातारात उनीहरूले पैसा ल्याउने गरेको उनले बताए । ‘सुन बोकेर आएका मजदुरले तत्काल धरौटी तिरेर सुन लैजान सक्दैनन् । तर, उनीहरूले पैसा भएर भोलिपल्टै धरौटी तिर्न आएका हुन्छन्’, उनले भने, ‘यहाँ धरौटी राख्न कसले भूमिका खेलिरहेको छ । यसको श्रोत के हो भनेर अहिले हामी यसैको अनुसन्धानमा लागेका छौँ ।’   

केही मानिसहरू मजदुर हो भन्दै कामको सिलसिलामा विदेश हिँडेको अनि काम गरेर फर्किएको भन्दै महिना दिनमै विदेश आवतजावत गरिरहेको घटना भेटिएको समेत उनले जानकारी दिए । उनले भने, ‘केही मानिसहरू मजदुर हो भन्छन् । तर, उनीहरू महिना दिनमै विदेश आवतजावत गरिरहेको पाइएको छ । उनीहरू तस्करको मिलेमतोमा तस्करीमा संलग्न भएको पाइएको छ ।’ त्यस्तै, उनले केही वास्तविक मजदुरहरू पैसाको लोभमा तस्करीको नजरमा पर्ने गरेको र फस्ने गरेको बताए ।  

त्यस्तै, प्रमुख भट्टराईका अनुसार केही श्रमिकलाई मेरो समान लगिदिनु भन्दै अनुरोध गरेर त्यो समान भित्र सुन पठाउने गरेको समेत पाइएको छ । ‘विदेशबाट फर्केका मजदुरलाई मेरो आफन्त नेपालमा छन् । मेरो केही समान जस्तोः मिक्सर, टिभी, मोबाइल जस्ता समान लगिदिनु भन्ने र त्यहाँभित्र सुन राखेर नेपाल पठाउने प्रवृत्ति रहेको भेटिएको छ’, उनले भने । यस्तो हकमा अवैध कारोबारमा संलग्न भएकोले मुद्दा समेत चलाइएको उनले जानकारी दिए । 

विदेशबाट फर्किने सर्वसाधारणलाई उनको आग्रह छ, ‘सर्वसाधारण यात्रुले आफू ढुक्क नभई अरूको समान नबोक्नु होस् । तपाईँले ल्याएको अरूको समान भित्र अवैध कारोबारको समान पनि हुन सक्छन् । त्यसैले तपाई अनाहकमा समस्यामा पनि पर्न सक्नुहुन्छ । पहिलो कुरा आफ्नो बाहेक अरूको समान बोक्दै नबोक्नुस्। यदि बोकी हाल्नु पर्ने अवस्था आएमा त्यो समान भित्र के छ भनेर सुनिश्चित हुनुहोला ।’ 

साथै उनले दुई चार पैसाको लोभमा अरूको समान नबोक्न अनुरोध समेत गरे । उनले भने, ‘तपाईँलाई कुनै व्यक्तिले एउटा सुनको वाला लगिदेउ म पाँच हजार दश हजार पैसा दिन्छु भन्यो भने सोच्नुस् कि त्यहाँ कतै न कतै गैर कानुनी कारोबार छ । कसैले पनि यतिकै पैसा दिँदैन । त्यसैले सुरुमा तपाई आफै सचेत हुन जरुरी छ ।’   

प्रतिक्रिया दिनुहोस