aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

होसियार रहनुहोस, फेरि भारी वर्षाको छ सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
होसियार रहनुहोस, फेरि भारी वर्षाको छ सम्भावना

पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । 

“शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ । ” त्यसका लागि अहिलेदेखि नै आकाशमा मनसुनी प्रणालीले पकड जमाउँदै गएको उहाँले बताउनुभयो । 

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उहाँ बताउनुहुन्छ । 

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाँको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस