
काठमाडौं । धान खेती गर्ने जमिनको क्षेत्रफलसँगै यस वर्ष बागलुङमा धान उत्पादनमा समेत वृद्धि भएको छ । धान खेतीका लागि अनुकुल मौसम परेको कारण क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लाभरमा यस वर्ष ६ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । धन खेती भएको यो क्षेत्रफल गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । मध्य पहाडी क्षेत्रमा पर्ने बागलुङको अधिकांस क्षेत्रमा आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष समयमै र मनसुन सक्रिय भएकाले किसानको खेत बाँझो नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “जिल्लाका सीमित क्षेत्रबाहेक अन्यत्र सिँचाइको व्यवस्था छैन” भट्टराईले भने, “यस वर्ष निरन्तरको वर्षाका कारण धान खेती हुने क्षेत्रफल र उत्पादन दवै बढेको छ ।” जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदि, छिस्तीलगायतका क्षेत्रमा बाहेक सिँचाइको व्यवस्था छैन ।
उपयुक्त मैसम, उन्नत बिउको प्रयोगलगायतका कारण यस वर्ष जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । यस वर्ष जिल्लाभर करिव २० हजार मेट्रिक टन धान उत्पादन भएको अधिकृत भट्टराईले बताए । “खेतीको सिजनमनै गत वर्षको तुलनामा १५ प्रतिशत धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको थियो” भट्टराईले भने । जिल्लामा विशेषगरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवालगायतका धान खेती हुँदै आएको छ । वर्ष दुई हजार छ सय हेक्टरमा उन्नत र तीन हजार चार सय हेक्टरमा स्थानीय जातको धान खेती हुँदै आएको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन भएको प्रमुख भट्टराईले बताए । धान भित्र्याउने समयमा हावा हुरीसँगै आएको वर्षाले धान बालीमा आंंशिक रुपमा क्षति पुर्याए पनि धान उत्पादनमा वृद्धि भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस