aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

साढे ३३ किलो सुन तस्करी प्रकरणः मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २२ मंसिर २०७८
साढे ३३ किलो सुन तस्करी प्रकरणः मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा

विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो ।

हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चूणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । हत्या अभियोगमा गोरेसहित आठजनालाई कैद फैसला भएको छ । सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो । गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए ।

पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् । यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमा ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ । ५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका आठजना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस