एजेन्सी । भारतमा सेनाको एमआई–१७ हेलिकप्टर बुधबार तमिलनाडुको कुन्नूरको जंगलमा दुर्घटनाग्रस्त भएको छ । जंगलमा भएको यो दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । जसमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित सेनाका १४ अधिकारी सवार थिए । हालसम्म जलेका ४ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दुर्घटना भएको करिब एक घण्टापछि जनरल रावतलाई वेलिंग्टनको मिलिटरी अस्पतालमा लगिएको जानकारी दिइएको थियो । यद्यपि उनको अवस्थाबारे कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन । कतिपय रिपोर्टले जनरल विपिन रावत गम्भीर घाइते भएको दाबी गरिरहेका छन् । यस दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिइएको छ ।
जनरल बिपिन रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन् । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पद सम्हालेका थिए । हेलिप्टरमा सवार जनरल बिपिन रावत, श्रीमति मधुलिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट के हरजिन्दर सिंह, नायक गुरसेवक सिंह, नायक जितेन्द्र कुमार, लान्स नायक विवेक कुमार, लान्स नाइक बी साई तेजा, हवलदार सतपाल रहेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ । ८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड मुनिबाट अझै केही शव देखिन्छन् । सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र आगो लागेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस