aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

विकास निर्माणका लागि आएको बजेट फ्रिज नगर्न खेलकुदमन्त्री अथकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
विकास निर्माणका लागि आएको बजेट फ्रिज नगर्न खेलकुदमन्त्री अथकको निर्देशन

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभा हलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन् । 

विकास निर्माणको अवस्था र आई परेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गति पछि धकेलिएको स्मरण गराए । 

करिब एक दर्जन बढी कार्यालय प्रमुखहरूको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए । कार्यालय प्रमुखहरूका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरूलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दबाब सृजना गर्न लगाउनुपर्ने बताए । 

त्यस क्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पूर्ण विद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुन लागेका सडक तथा पुल र विकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखहरुसँग जानकारी लिने काम भएको थियो । 

प्रतिक्रिया दिनुहोस