
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको महत्वाकाक्षीं योजनामध्ये जोरपाटीको सानो बजारलाई मलमा परिणत गर्ने रहेको छ । जोरपाटी चोक नजिक जस्ताको टहरामा रहेको सानो बजार हटाएर त्यहाँ सात तले मल बनाई अव्यवस्थित बजारलाई व्यवस्थित बनाउन लागिएको हो ।
सात तले मलमा नगरपालिकाको कार्यलय र सानो बजारकै व्यापारी र अन्य व्यवसाय पनि समेट्ने तयारी नगरपालिकाको छ । उक्त मल निर्माण गर्नको लागि करिब ६० करोड रुपियाँँ बजेट लाग्ने गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए । उनले मलको निर्माण कार्य छिट्टै अगाडि बढाउने जानकारी दिए ।
‘जोरपाटी आसपास क्षेत्रमा पार्किङ छैन । पार्किङ नहुँदा टहरामा व्यापार गर्ने व्यापारीलाई गाह्रो परेको छ । त्यसकारण अन्डरग्राउन्डमा पार्किङको व्यवस्था सहित भवन निर्माण गर्न लागिएको हो । ’ मेयर चालिसेको भनाइ ।
जेष्ठ नागरिक र महिलालाई उपचार निःशुल्क
गोकर्णेश्वर नगरपालिकाको ७० वर्षमाथिका बुद्धवृद्धालाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भएको छ । गोकर्णेश्वर नगरभित्रका जेष्ठ नागरिकले निःशुल्क उपचार गराउन नगरभित्र रहेको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा जानुपर्ने छ ।
नगरप्रमुख चालिसेले भने–‘चेकजाँच गरेको पैसा लाग्दैन तर औषधि चाहिँ आफंैले किन्नुपर्छ ।’ त्यस्तै गोकर्णेश्वरनगरभित्रका महिलालाई चेकजाँच निःशुल्क गर्ने भएको छ । जुनसुकै उमेरका महिला भए पनि चेकजाँचका लागि पैसा लाग्ने छैन ।
जोरपाटी चोकमा आकाशे पुल
काठमाडौं उपत्यकामा भीडभाड हुने ठाउँमध्ये जोरपाटी पनि एक हो । जोरपाटी क्षेत्रलाई काठमाडौंको सबैभन्दा धेरै सहकारी भएको क्षेत्र पनि मानिन्छ । जतिबेलै मानिसको भीड लाग्ने ठाउँमा गोकर्णेश्वर नगरले आकाशे पुल बनाउने भएको छ । उक्त पुलको लागि नगरले २ करोड रूपैयाँ छुट्याएको नगर प्रमुख चालिसेले बताए ।
गोकर्ण मन्दिर पुनर्निर्माण
गोकर्णेश्वरमा रहेको गोकर्ण मन्दिरमा पुनर्निर्माण हुने भएको छ । कुशेऔंशीका दिन विशेष मेला लाग्ने उक्त मन्दिर नगरपालिकाले बनाउने भएको छ । कुशे औंशीका दिन यहाँ आएर श्राद्ध गर्याे भने पितृ तर्छन् भन्ने धार्मिक विश्वास बोकेको उक्त मन्दिरको लागि ३ करोड रूपैयाँ छुट्याएको चालिसेले बताए ।
खानेपानी विशेष कार्यक्रम
गोकर्णेश्वर नगरपालिकाले खानेपानी विशेष कार्यक्रम गर्ने भएको छ । खानेपानी निर्माणको लागि ५ करोड रूपैयाँ छुट्याएको चालिसेको भनाइ छ । पुरानो धारा भएको ठाउँमा पुरानै धारामा पानी खसाल्ने र नयाँ राख्नुपर्ने ठाउँमा आवश्यकता अनुसार पानीको धारा राख्ने योजना बनाएको छ । पानीनै मानव जीवनको लागि अत्यावाश्यक वस्तु भएकाले आवश्यक परेको ठाउँमा पानीको धारा राख्ने चालिसेले जानकारी दिए । पानीको लागि बोरिङ गरेर होस् वा अन्य ठाउँबाट ल्याएर होस् गोकर्णेश्वरका बासिन्दालाई पानी खुवाएरै छोड्ने उनले प्रतिबद्धता जनाए ।
स्मार्ट पार्क निर्माण गर्ने
काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको लागि निर्माण गर्न दिएको १ करोड र गोकर्णेश्वर आफैंले २ करोड गरी ३ करोड रुपैयाँमा स्मार्ट पार्क निर्माण गर्न लागेकाको नगरले जनाएको छ ।
गोकर्णेश्वरमा निर्माण हुँदै गरेको सहीद पार्ककै तल गोकर्णेश्र नगरले पनि स्मार्ट पार्क निर्माण गर्ने लागेको छ । उक्त पार्क खेलकुद र बगैंचा गरी दुई भागमा छुट्याइने छ । खेलकुदको लागि १ करोड रूपैयाँ छुट्याएको छ भने स्मार्ट पार्क लागि २ करोड खर्च गरिने भएको छ । यो पार्क २७ रोपनी जग्गामा बन्न लागेको छ ।
पर्यटकलाई आर्कषक गर्न शिवपुरी
पर्यटकको गन्तब्य थलो मानिएको शिवपरीलाई गोकर्णेश्वरनगरले ३ करोड रूपैयाँ खर्च गरेर पूर्वाधार निर्माण गर्ने भएको छ । गोकर्णेश्वरमा रहेको अरू पर्यटकस्थल जस्तै शिवपुरी डाँडालाई पनि विशेष स्थल मानिएको छ । त्यहाँ पर्यटकको सुविधाको लािग आवश्यक होटल, रेष्टुरेन्ट खोली गन्तब्य स्थल बनाउने योजना रहेको मेयर चालिसेले बताए ।
प्रतिक्रिया दिनुहोस