
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइलको एसेम्बल प्लान्टलाई विद्युत् महसुलमा सहुलियत दिने घोषणा गरेका छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन गर्ने गरी नेपालमै सवारीसाधन उत्पादन (एसेम्बल) गर्ने उद्योग खोलेमा विद्युत् महसुललगायतको सहुलियत दिने घोषणा गरेका हुन् । ‘अटोमोबाइल व्यवसायलाई अब नयाँ ठाउँमा उभ्याउनुस्, यहाँ आउने सवारीसाधन यही उत्पादन गर्नुहोस्,’ उनले भने, ‘बजार यहीँ छ, प्रविधि भित्र्याउन सकिन्छ, जग्गा उपलब्ध गराउन र विद्युत् महसुलमा सहुलियत दिन सकिन्छ ।’
अर्थमन्त्री शर्माले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र कनेक्टिभिटीमा दिएको योगदान महत्वपूर्ण भएको बताए । तर, अब अटोमोबाइल क्षेत्रले भन्सारबाट दिँदै आएको राजस्वको योगदान उत्पादनबाट दिनुपर्ने उनको भनाइ थियो । ‘हाम्रो स्रोत भनेको पानी र जलविद्युत् हो, यसको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘तपाईं (व्यायवासी)हरू म्यानुफ्याक्चरिङका लागि सुविधा माग्न आउनुहोस्, म स्वागत गर्छु ।’
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले आयातमा प्रतिबन्ध लगाउने नीति नलिने बताए । सरकारको ध्यान आयात प्रतिबन्धभन्दा पनि स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउनेतर्फ रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय कानुनहरूले पनि आयात प्रतिबन्ध लगाउन दिँदैन, त्यो सम्भव पनि छैन,’ उनले भने, ‘स्वदेशी उद्योगलाई सहुलियत दिएर भए पनि प्रतिस्पर्धी बनाउनुपर्छ, जसले आयात स्वतः प्रतिस्थापन हुन्छ ।’
अर्थमन्त्री शर्माले विद्युतीय सवारीसाधनको व्यवसाय प्रवद्र्धनमा समेत जोड दिए । उनले सबै पेट्रोल पम्पमा चार्जिङ स्टेसन बनाउने सुनाए । ‘चार्जिङ स्टेसनको कुरा आयो, त्यो आवश्यक छ, सरकारले ध्यान दिएको छ,’ उनले भने, ‘सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ ।’कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको एसेम्बल उद्योग स्थापनाका लागि सरकारले सघाउनुपर्ने बताए । ‘नेपालमा दुईपांग्रे सवारीको एसेम्बल सुरु भइसकेको छ, अब चारपांग्रेको पनि एसेम्बल सुरु गर्नुपर्छ,’ उनले भने, ‘यसमा सरकारले सहजीकरण गर्नुपर्छ, एसेम्बल उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।’
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्रलाई उपेक्षा नगर्न सरकारलाई आग्रह गरे । ‘निजी, सार्वजनिक, निर्माण तथा सेवाका लागि प्रयोग हुने सवारीसाधन, स्पेयर पार्टस्, सर्भिस सेन्टर, लुब्रिकेन्ट्स, टायर–ट्युब, ब्याट्रीलगायत व्यवसाय प्रत्यक्ष–परोक्ष रूपमा उत्पादकत्व बढाउने व्यवसाय हुन्, कुनै पनि प्रकारको विकास निर्माणका लागि सवारीसाधन अपरिहार्य साधन हो,’ उनले भने, ‘खर्बौंको लगानी, बीसौँ लाखको रोजगारी, खर्बौं राजस्वको स्रोत, बैंकिङ तथा बिमा व्यवसायको महत्वपूर्ण लगानी हुने सवारीसाधनलाई उपेक्षा गरेर राष्ट्र निर्माण हुन सक्दैन ।’ उनले सडक पूर्वाधारको मर्मतसम्भार तथा नवनिर्माणमा जोड दिनुपर्ने बताए ।
व्यवसायीहरूले अटोमोबाइल क्षेत्रको एसेम्बल उद्योगका लागि स्पष्ट नीति नियम बनाउन आग्रह गरेका छन् । नाडाका उपाध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्र व्यापारबाट उद्योगमुखी हुँदै गएको बताउँदै अब यसका लागि स्पष्ट नीति बनाउनुपर्ने औँल्याए । ‘हामी क्रमशः उद्योगतर्फ अघि बढ्दै छौँ,’ उनले भने, ‘उद्योगमा जानुअघि नीति नियम स्पष्ट बनाइनुपर्छ ।’ नाडा अध्यक्ष दुलालले एसेम्बल उद्योगको अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था स्वागतयोग्य भएको बताउँदै यसलाई स्थिर बनाउन र एसेम्बल उद्योगलाई दिने सहुलियतका विषयमा ऐन ल्याउन र स्थिर नीति लिन आग्रह गरे । नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस