
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ अर्ब ६७ करोड ३१ लाख २५ हजार ९ सय ७९ रुपैयाँबराबरको बीउ खरिद गरेको छ । कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित भए पनि नेपाल बीउकै लागि परनिर्भर हुनुपर्ने अवस्था पाइएको हो ।
बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रका तथ्यांकअनुसार नेपालमा करिब २२ प्रतिशत बीउ मात्र औपचारिक क्षेत्रबाट आपूर्ति हुने गरेको छ । थप बीउ विदेशबाट खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।
केन्द्रका अनुसार कुल बीउको माग करिब ४५ हजार मेट्रिक टन छ भने आपूर्ति करिब ३८ हजार मेट्रिक टन छ । आर्थिक वर्ष २०७७/७८ मा धानको बीउमा वार्षिक १ अर्ब ६१ करोड ४२ लाख ९९ हजार २ सय ६७ रुपैयाँ, मकैमा ५१ करोड ६ लाख ८५ हजार ५९ रुपैयाँ र तरकारीको बीउमा ५४ करोड ८१ लाख ४१ हजार ६ सय ५३ रुपैयाँ बाहिरिएको छ ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाई पछिल्लो समय हाइब्रिड बीउको आयात बढ्दै गएको बताए । उनले किसानको मागअनुसार स्वदेशमा हाइब्रिड जातको बीउ उत्पादन गर्न नसक्दा बर्सेनि हाइब्रिड बीउको आयात बढ्दै गएको बताए ।
उनका अनुसार मकैको शतप्रतिशत र धानको ९० प्रतिशत हाइब्रिड जातको बीउ आयात हुन्छ । यसैगरी, हरियो तरकारीमा हाइब्रिड जातको बीउ आयात हुन्छ ।
नेपालले हालसम्म तीनवटा जातको बीउको मात्र हाइब्रिड बीउ उत्पादन गर्न सकेको छ । नेपालले धान, मकै र गोलभेंडाको हाइब्रिड बीउ विकास गरेको छ । स्वदेशमा विकास भएको हाइब्रिड जातको बीउ किसानको मागअनुसार आपूर्ति गर्न नसक्दा बर्सेनि बीउको आयात बढ्दै गएको केन्द्रका प्रमुख प्रसाईंको भनाइ छ ।
प्रसाईका अनुसार हालसम्म नेपालमा एउटा गोलभेंडा सिर्जना, गोलभेंडा खुमल–१ र गोलभेंडा खुमल–२ जातको हाइब्रिड बीउको विकास भएको छ । गोलभेंडा खुमल–१ र गोलभेडा खुमल–२ जातको हाइब्रिड बीउको विकास भर्खरै मात्र भएको प्रमुख प्रसाईंले जानकारी दिए ।
बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा मकैको सातवटा हाइब्रिड बीउ गौरभ हाइब्रिड, रामपुर हाइब्रिड–१०, रामपुर हाइब्रिड–८, रामपुर हाइब्रिड–६, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–२ र खुमल हाइब्रिड मकै २ को विकास भएको छ ।
गोलभेंडा एउटा सिर्जना जातको हाइब्रिड बीउको विकास भएको छ । धानमा हर्दिनाथ हाइब्रिड–१ एफ र हर्दिनाथ हाइब्रिड–३ एफ गरी दुईवटा जातको बीउको विकास गरेको छ ।
प्रतिक्रिया दिनुहोस