aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नक्सा पास र स्वीकृतिबिनै गुठी जग्गामा विद्यालय भवन निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
नक्सा पास र स्वीकृतिबिनै गुठी जग्गामा विद्यालय भवन निर्माण

काठमाडौं । नक्सापास र स्वीकृतिबिनै टेकुस्थित पचली भैरव गुठीको जग्गामा भवन निर्माण गरिएको पाइएको छ । काठमाडौं महानगरपालिका–१२ को सिट नम्बर १०२–११४४–०६ अन्तर्गत कित्ता नम्बर १९६।१९८ को पचली भैरव गुठीको नाममा दर्ता स्रेस्ता कायम भएको २ रोपनी ८ आना जग्गा क्षेत्रमा अवैधानिक रूपमा भवन निर्माण गरेको पाइएको हो ।
महेन्द्र सरस्वती आधारभूत माध्यमिक विद्यालयले स्वीकृति नलिई भवन निर्माण गरेको गुठी संस्थानले पुष्टि गरिसकेको छ । भवन निर्माणको विषयमा गुठियारहरूले उजुरी गरेपछि संस्थानले गुठियार र विद्यालय प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो ।
संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले भवन निर्माण गर्दा आवश्यक प्रक्रिया पूरा नभएको पाइएको बताए । ‘कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण गर्नुपर्नेमा पूरा नभएको देखियो,’ थपलियाले भने ।
संस्थानले गत १९ जेठमा महानगरपालिकालाई निर्माण कार्य रोक्न भन्दै पत्र पठाएको थियो । संस्थानले विद्यालयलाई काम रोक्का राख्न र महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक सहयोग गरिदिन आग्रह गरेको थियो । तर, महानगरले बेवास्ता गर्दा निर्माणकार्य जारी रहेको थियो ।
विद्यालयले सो स्थान वर्षौंदेखि प्रयोग गर्दै आएको र यसअघि टहरा निर्माण गरी कक्षा सञ्चालन गरिएको बताएको छ । विद्यालयका प्रतिनिधि दयाचन्द्र श्रेष्ठका अनुसार वडाको मौखिक सहमति र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुमतिमा निर्माण सुरु गरिएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस