
काठमाडौं । गरुंगो मन, मलिन अनुहार अनि, टिल्पिल आँखा। केहीबेर यताउति हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला।’
पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झन्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गरेका वरिष्ठ नेता पौडेल भने ‘निराशा’ व्यक्त गर्दै थिए। चित्त दुःखाइरहेका थिए।
पौडेलको अरूसँग नभै, ‘आफ्नै’ प्यानलका नेताहरूसँग चित्त दुःखाइ थियो, असन्तुष्टि थियो। पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो। सबै मिले आफूले मान्ने, नभए आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो। तर, पौडेलले सोचेजस्तो न साझा उम्मेदवार बन्ने स्थिति बन्यो, न त पौडेललाई नै ‘अन्तिम’ उम्मेदवार बन्ने मौका दिइयो। ‘प्यानल’ भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिएनन्, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी भएनन्।
झन्डै ६ दशक सम्पूर्ण जीवन कांग्रेसकै राजनीतिमा समर्पित गरेका वरिष्ठ नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्नका लागि मैदानमा उत्रिने यो ‘अन्तिम’ अवसर थियो। समकालीन देउवा पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य छन्।
१४औं महाधिवेशनमा त पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिए। शशांक कोइराला ‘लचिलो’ बने पनि शेखर कोइराला र प्रकाशमान सिंहले अड्डी कसे। त्यही कारण, पौडेलले सभापतिको उम्मेदवार नबन्ने घोषणा गरे। झन्डै ७७ वर्षीय पौडेललाई आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ‘ढिला भइसक्ने’ विश्लेषण गरिँदैछ।
प्रतिक्रिया दिनुहोस