
काठमाडौं । बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् ।
पुसमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाए पनि कात्तिक र मंसिरमा बढिसकेको छ । यसले आधार दर बढ्ने भएकाले आउँदो माघदेखि कर्जाको ब्याजदर कम्तीमा १ प्रतिशत बिन्दुले बढ्ने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालको भनाइ छ । ‘बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर बढाए माघदेखि कर्जाको ब्याजदर एक प्रतिशतभन्दा धेरै बढ्ने निश्चित छ,’ उनले भने, ‘पुसमा पनि मंसिर सरर नै निक्षेपको ब्याजदर कायम रहे पनि औसतमा एक प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर बढ्न सक्छ ।’
माघपछि कर्जाको ब्याजदर एकल अंकबाट माथि जाने पनि दाहालले बताए । ‘हिजोआज बैंकहरूद्वारा प्रवाह भइरहेको नयाँ कर्जाको ब्याजदर दोहोरो अंकमा रहेको हुनुपर्छ । अब बढ्दा झन् माथि पुग्छ,’ उनले थपे, ‘यस अवधिमा सरकारी खर्च धेरै भयो र बजारमा तरलता पर्याप्त भएको अवस्थामा भने अनुमान गरिएअनुसार कर्जाको ब्याजदर नबढ्न सक्छ ।’
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीनरतीन महिनामा आधार दर गणना गर्नुपर्छ । यसरी त्रैमासिक रूपमा आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको (नयाँ पुराना सबै) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । चालु आर्थिक वर्षमा बैंकहरूले गत असोजमा आधार दर गणना गरेका थिए । अब पुसमा पुनः गणना गर्छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउँछन् । यसकारण पनि माघदेखि करिब एक प्रतिशत हाराहारीमा कर्जाको ब्याजदर बढ्ने बैकर्स संघका उपाध्यक्ष सुनील केसीले बताए ।
प्रतिक्रिया दिनुहोस