aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एमसिसि विरुद्ध फेरि भ्रामक सामग्री सम्प्रेषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
एमसिसि विरुद्ध फेरि भ्रामक सामग्री सम्प्रेषण

काठमाडौं ।  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमार्फत एमसिए–नेपाल विकास समितिका लागि खरिद एजेण्ट तथा वित्तीय एजेण्टका रूपमा परामर्श सेवा उपलब्ध गराइरहेको कार्डनोको लोगोसहित नक्कली कागजपत्र प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको पाइएको जनाएको हो  । उक्त सामग्रीमा कार्डनोको परिचयका रूपमा भ्रामक जानकारी उल्लेख गरिनुका साथै एमसिए–नेपालको सुरक्षा व्यवस्थासम्बन्धी सेवा आपूर्तिका लागि तयार गरिएको दस्तावेजलाई गलत अर्थ लाग्ने गरी कपोलकल्पित कुरा उल्लेख एमसिए नेपालको भनाइ छ ।  

साथै उक्त सामग्रीमा उल्लेख गरिएका सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको जानकारी एमसिए–नेपाल यस विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने निन्दनीय प्रवृत्तिप्रति एमसिए–नेपाल गम्भीर भत्र्सना गर्नुका साथै त्यस्ता सूचना प्रदूषण फैलाउने कुत्सित मनसाययुक्त भ्रामक सन्देश सम्प्रेषकविरुद्ध कडा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको समेत जनाएको छ ।
 
यस अघि गत भदौ महिनामा पनि ट्वीटरमार्फत् यस्तै भ्रामक सामग्री सम्प्रेषण भएको पुनःस्मरण गराउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले त्यसविरुद्ध छानबिन कार्य गम्भीरतापूर्वक अगाडि बढाइरहेको जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस