
काठमाडौँ । विश्व बैंकले गत जुनमा ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.६ प्रतिशत हुने प्रक्षेपण गर्यो । कोभिड महामारीका कारण सुस्ताएको अर्थतन्त्र स्वाभाविक लयमा फर्किंदा उच्च वृद्धिदर हासिल गर्न सम्भव हुने उसको अनुमान थियो । तर महामारी नियन्त्रण उन्मुख हुने र अर्थतन्त्र पुनरुत्थानका लागि विश्वव्यापी पहल थालिने अनुमान गरिएका बेला कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलन सुरु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरिएन्ट निकै संक्रामक रहेको र यो भेरिएन्टका लागि भ्याक्सिनको प्रभावकारिता पनि न्यून रहेको बताइरहेको छ । अफ्रिकी मुलुकबाट फैलिएको यो भेरिएन्टले पश्चिमा मुलुकहरूको अर्थतन्त्रमा गम्भीर चुनौती सिर्जना गरिदिएको छ । विश्वका अरू देशले पनि स्वाभाविक गति र लयको आर्थिक वृद्धिदर हासिल गर्न सकेका छैनन्, जसकारण विश्व बैंकले क्षेत्रीय रूपमा जीडीपी अनुमान घटाउन थालिसकेको छ ।
विश्व बैंक मात्र नभई विश्व अर्थतन्त्रको अवस्थालाई विश्लेषण गर्दै आएका विभिन्न संस्थाले जीडीपी वृद्धिदर यसअघि अनुमान गरेभन्दा कम रहने जनाइरहेका छन् । ब्लुमबर्ग इकोनोमिक्सले यसअघि ५.१ प्रतिशतको आर्थिक वृद्धिदर भन्दै आएकामा त्यसलाई संशोधन गरेर ४.७ प्रतिशतमा खुम्चाएको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले विश्वको जीडीपी वृद्धिदर यस वर्ष ५.६, सन् २०२२ मा ४.५ र २०२३ मा ३.२ प्रतिशतमा खुम्चने अनुमान गरेको छ ।
ब्लुमबर्ग इकोनोमिक्सको प्रक्षेपणलाई आधार मान्दै समाचार संस्था बिजनेस स्ट्यान्डर्डले विश्वको जीडीपी वृद्धिदर घट्नुमा नियन्त्रण हुन नसकेको महामारीलाई नै पहिलो कारण मानेको छ । ‘विकसित देशमै प्रभावकारी हुन नसकेको खोप कार्यक्रम र फैलँदो महामारीको नयाँ भेरिएन्टले मूल्यवृद्धि, बेरोजगार, उदाउँदा बजारबीचको अस्वस्थ प्रतिस्पर्धाजस्ता समस्या फेरि उजागर गरेको छ,’ बिजनेस स्ट्यान्डर्डले लेखेको छ, ‘बेलायतलगायत केही देशले अहिले पनि संकटकै अवस्था भोगिरहेका छन् ।’
अहिले विश्वव्यापी रूपमा मूल्यवृद्धि देखिएको छ । सन् २०२१ मा अमेरिकाले मुद्रास्फीति दर २ प्रतिशतको सीमाभित्रै राख्ने अनुमान गरेको थियो । तर त्यो करिब ७ प्रतिशत हाराहारीमा पुग्यो । यूएस लेबर डिपार्टमेन्टले शुक्रबार कन्जुमर प्राइस इन्डेक्स (सीपीआई) सार्वजनिक गर्दै मुद्रास्फीति ६.८ प्रतिशत कायम भएको उल्लेख गरेको छ, जुन सन् १९८२ यताकै खराब अवस्था हो । मूल्यवृद्धिका लागि ओमिक्रोन एउटा कारण हुन सक्छ । तर कामदारको बढ्दो तलबले पनि मुद्रास्फीतिमा असर गरेको सीपीआईले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस