
काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको भन्दै निष्कासन गरेको हो ।
केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पाण्डेलाई पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण माग समेत गरेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक स्पष्टीकरणमा सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर रहेको समेत जनाएको छ।
बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ विज्ञप्तिमा भनिएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
तपाईँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।
प्रतिक्रिया दिनुहोस