
काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको भन्दै निष्कासन गरेको हो ।
केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पाण्डेलाई पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण माग समेत गरेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
तर, पाण्डेले यसबारे सामाजिक सञ्जाल मार्फत प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत पार्टीभित्रको मतभिन्नतालाई वैचारिक संघर्षमार्फत व्यवस्थित गर्नुको साटो पार्टीबाट निस्कासन गरेको भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्तिमा पूर्णत अस्वीकार गर्ने जनाएका छन् ।
हेर्नुहोस् पाण्डेको प्रतिक्रिया
म माथी कारवाही भएको समाचारबारे संक्षिप्त प्रतिकृया
विवेकशील साझा पार्टीको एकिकरण घोषणापत्र, विधान र विचार विपरित पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा लागेका रवीन्द्र मिश्रले पार्टी संयोजकबाट मलाई निष्कासन गरेको समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
पार्टीभित्रको मतभिन्नतालाई वैचारिक संघर्षमार्फत व्यवस्थित गर्नुको साटो 'पार्टीबाट निस्कासन गरेको' भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्ति म पूर्णत: अस्वीकार गर्दछु। म पार्टीका सदस्यहरुलाई अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित यस्ता विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गर्दछु।
गणतन्त्र जोगाउँ, मुलुकको संविधान जोगाउँ, पार्टीको विधान मानौँ, धर्मको नाउँमा राजनीति नगरौँ भन्दा पार्टी संयोजकलाइ सदस्यबाट समेत हटाउने अवैधानिक, अलोकतान्त्रिक र अनैतिक कदमको पार्टी भित्र र बाहिरबाट समेत निन्दा र भ्रत्सना गर्न आव्हान गर्दछु।
मैले विवेकशील साझा पार्टी निर्माणमा मेरो जीवनका सर्वाधिक उर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालिन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भईरहँदा विवेकशील साझा पार्टी गठनका लागि ठूलो त्याग र जोखिम मोलेर मैले नेतृत्व लिएको थिए। म र पार्टीको मूलबाटोमा प्रतिबद्ध साथीहरु विवेकशील साझा पार्टीबाट यस्ता अवैधानिक कारवाहीका प्रोपोगान्डाले विचलित हुँदैनौँ।
विवेकशील साझा पार्टी हाम्रो पार्टी हो। हामी यसलाई निरन्तरता दिनेछौँ।
आजै विहान हाल कायम १२९ जना केन्द्रीय समिति सदस्य समेत सहभागि २०१ सदस्यीय 'विवेकशील साझा पार्टी सुदृढिकरण अभियान' को केन्द्रीय समिति घोषणा भएको छ। यो कुनै समानान्तर समिति नभई पार्टी निर्माणको मुल कार्यक्रम हो। मंसिर २४, २०७४ मा भएको पार्टी एकिकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो।
अत: पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकिकरण घोषणापत्रमाथी लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै नैतिक र राजनैतिक अधिकार छैन। हामी विवेकशील साझा पार्टीलाइ वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भईरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।
नेपाल आमाको जय होस्।
मिलन पाण्डे
संयोजक
विवेकशील साझा पार्टी
प्रतिक्रिया दिनुहोस