
काठमाडौं । प्रहरीले पाँच वर्षअघि काठमाडौंमा बरामद गरेको साढे ३३ केजी सुन तस्करी मुद्दामा अधिकांश मुख्य आरोपीले सफाइ पाएका छन् । कसुर प्रमाणित भएकालाई पनि सजाय न्यून भएको छ । तर, सुन ओसारपसारमा संलग्न तल्लो तहका व्यक्तिलाई भने अदालतले धेरै सजाय सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतले मुख्य लगानीकर्तालाई सफाइ दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ । २१ पुस ०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थल हुँदै तस्करी भएको सुन पिंगलास्थानबाट बरामद गरी गोपालबहादुर शाही र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । उनहरूमाथि थप अनुसन्धान गर्दा यसमा संलग्न गिरोह पत्ता लागेको थियो । पछि गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीले गरेको छानबिनमा पनि सो समूहले पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।
गत २३ चैतमा फैसला भएको मुद्दाको पूर्णपाठ असारमा तयार भएको थियो । ३५ प्रतिवादी रहेको यो मुद्दाको फैसलामा ११ जना दोषी ठहर भएका छन् भने १९ जनाले सफाइ पाएका छन् । पाँच आरोपी अदालतमा उपस्थित नभएकाले उनीहरूको मुद्दा मुल्तबीमा राखिएको छ ।
फैसलामा प्रहरी अनुसन्धानमा मुख्य लगानीकर्ताका रूपमा देखिएका गुप्तलाल भुसाल ९रोशन०, राजेन्द्रकुमार शाक्य, प्रमोद श्रेष्ठ, राहुल गोयललगायतलाई सफाइ दिइएको छ । प्रहरीले दाबी गरेको संगठित अपराध मुद्दालाई पनि अदालतले अस्वीकार गरेको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले ११ जनालाई दोषी ठहर गरे पनि मागभन्दा थोरै सजाय भएको छ ।
प्रतिक्रिया दिनुहोस